राष्ट्र बैंकको वेवसाइटमा दुई सातायता छैन कर्जा निक्षेपको अद्यावधिक तथ्याङ्क

0
Shares

मुलुकको केन्द्रीय बैंकले नै दुई सातायता बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप तथा कर्जाको विवरण अद्यावधिक गर्न चुकेको छ । सही समयमा सूचना प्रवाहमा सचेत रहँदै आएको राष्ट्र बैंक पछिल्लो समय सूचना लुकाउन लागेको हो ।

पछिल्लो पटक असोज ३० गते मंगलबार अद्यावधिक भएकोमा त्यसयता भने केन्द्रीय बैंकको वेवसाइट अद्यावधिक भएको छैन । पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाबाट असोज मसान्तसम्ममा ५० खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो हालसम्मको उच्च बिन्दु हो । भदौ मसान्तसम्म बैंक वित्तीय संस्थाबाट ४९ खर्ब १३ अर्ब कर्जा प्रवाह भएकोमा असोजभरमा ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।

असोजसम्म वित्तीय क्षेत्रको कुल प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकबाट ४४ खर्ब २६ अर्ब प्रवाह भएको छ भने अन्य वित्तीय संस्था (विकास बैंक र फाइनान्स र लघुवित्त कम्पनी) बाट ५ खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको हो ।

यस्तै असोज मसान्तसम्ममा बैंक वित्तीय संस्थामा ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ५२ खर्ब २३ अर्ब र अन्य वित्तीय संस्थामा ६ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ ।

असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८१.७४ प्रतिशतमा झरेको छ भने अन्तरबैंक ब्याजदर १.९९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।