कामना सेवाको खुद ब्याज आम्दानी घट्दा पनि नाफा उल्लेख्य बढ्यो

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडको खुद ब्याज आम्दानी घटेपनि नाफामा उल्लेखनीय वृद्धि भएको छ । बैंकले खराब कर्जा वापत छुट्टाएको इम्पेरमेन्ट चार्ज घट्दा नाफामा सकारात्मक असर देखिएको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत खुद नाफा बढेको हो । गत आवको सोही अवधिसम्म बैंकले ४ करोड १५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको इम्पेरमेन्ट चार्ज गत आवको तुलनामा ६३ प्रतिशत घटेको छ ।अघिल्ले आवको पहिलो तीन महीनामा २५ करोड ६६ लाख नोक्सानी व्यवस्था गरेको बैंकले चालु आवको सोही अवधिमा ९ करोड ५२ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको छ । यसले सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो ।

असोज मसान्तसम्ममा बैंकले १८ करोड ९५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत आवको सोही अवधिमा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा थियो । पहिलो त्रैमाससम्म बैंकले ५४ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४३ अर्ब ५१ करोड २३ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप २.५५ प्रतिशतले बढ्दा कर्जा लगानी ०.७७ प्रतिशतले घटेको हो ।

चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रूपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा पुगेको छ । गत आवमा ५ रुपैयाँ ७ पैसा थियो । बैंकको प्रति सेयर नेटवर्थ पनि बढेर १४७ रुपैयाँ १८ पैसा कायम भएको छ । बैंकको रिटेन्ड अर्निङ भने ५१.४२ प्रतिशत घटेर २ करोड ५६ लाख ३० हजार रुपैयाँमा कायम भएको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ५२ करोड २२ लाख ६७ हजार रुपैयाँ छ । जगेडा कोष ८.३६ प्रतिशतले बढेको हो ।

गत आवको पहिलो त्रैमासमा ३.४० प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आवमा बढेर ३.४८ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फन्ड ९.७३ बाट ९.२०मा, आधारदर १२.२३ बाट ११.७२ प्रतिशतमा घटेको छ । समीक्षा अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८०.३७ र पुँजीकोष अनुपात १२.३१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।