इजरायल-गाजा युद्ध जारी रहे पेट्रोलियम पदार्थको मूल्य अकासिने विश्व बैंकको प्रक्षेपण


मध्यपूर्वमा जारी इजरायल–गाजा युद्धका बीच विश्व बैंकले पेट्रोलियम पदार्थको मूल्य अकासिने प्रक्षेपण गरेको छ । लामो समयसम्म युद्ध यथावत् रहिरह्यो भने पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १५० डलर वा सो भन्दा माथि पुग्ने आकलन विश्व बैंकले गरेको हो । 

वर्तमान समयमा पेट्रोलियम पदार्थको मूल्य ९० डलर प्रति ब्यारेल रहेको छ । पेट्रोलियम पदार्थ निर्यातकर्ता (ओपेक) राष्ट्रहरूले कच्चा तेलको आपूर्ति बढाएको खण्डमा आगामी समयमा तेलको मूल्य ९० डलर प्रति ब्यारेलबाट घट्ने अनुमान गरिएको छ । तथापि युद्ध लम्बिँदै गयो भने उक्त अनुमान उल्टो साबित हुने विश्व बैंकले जनाएको छ । 

सन् १९३० को दशकमा विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको अभाव हुँदा तेलको मूल्य प्रति ब्यारेल १५७ डलर पुगेको थियो । सन् १९७३ मा अरबका तेल उत्पादक राष्ट्रहरूले ओम किप्पुर युद्धमा इजरायललाई सहयोग गर्ने अमेरिका र अमेरिकाका एलायन्स राष्ट्रहरूलाई तेल बिक्री गर्न बन्द गरेपछि विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको थियो । 

अक्टोबर ७ मा आतङ्कवादी घोषित भएको हमास समूहले गाजामा आक्रमण गरेपछि सुरु भएको इजरायल–प्यालेस्टाइन युद्धमा अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको पक्षमा बोल्दै इजरायललाई हातहतियारको कमी हुन नदिने बताउँदै आएका छन् । 

यता प्यालेस्टाइनको पक्षमा इरान, साउदी अरेबिया लगायतका अरब राष्ट्रहरू रहेका छन् । यसरी युद्धको पक्षमा उभिदै शक्तिशाली राष्ट्रहरुले हातहतियार बिक्री गर्दा युद्ध बढ्दै जाने र रुस–युक्रेन युद्धका कारण उब्जिएका समस्याहरू पुनः जीवित हुने विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमीत गीलले बताएका छन् । रुस–युक्रेन युद्ध जारी रहँदै गर्दा इजरायल–गाजा युद्ध सुरु भएकाले भावी समयमा विश्वले दुवै युद्धहरुले निम्त्याएको नकरात्मक असर भोग्नु पर्ने धारणा राखेका छन् । 

पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा खाद्यान्न लगायतका अन्य वस्तुको पनि मूल्य बढ्दै जाने छ । रुस–युक्रेन युद्धका कारण सन् २०२२ मा ६ अर्ब मानिसहरु कुपोषणको शिकार हुन पुगेका छन् । युद्ध जारी रहेमा विस्थापित तथा भोकमरीको सामना गरिरहेका मानिसहरुको सङ्ख्या बढ्ने उनको अनुमान छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।