स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकको १० करोड डलर ऋण

स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकको १० करोड डलर ऋण

विश्व बैंकले नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहूलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

यसका साथै नेपालमा स्वास्थ्य सेवाको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान विश्व बैंकले दिने भएको हो ।

गत कात्तिक १० मा विद्युतीय हस्ताक्षर सम्पन्न भएको सो सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थ सचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स र विश्व बैंकका तर्फबाट नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका थिए । आज सो हस्ताक्षरित वित्तीय सम्झौता आदानप्रदान भएको छ । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो ।



सम्झौताहरू अर्थमन्त्री डा.प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे र दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आदानप्रदान गरिएको थियो । सम्झौतापत्र आदानप्रदान गर्दै अर्थसचिव कृष्णपुष्कर भन्छन्, “गुणस्तरीय स्वास्थ्य सेवा मानव पूँजी विकासको आधारशीला हो । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनद्वारा तय गरिएको बृहत् सुधारका एजेण्डा उच्च गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न निर्णायक हुनेछन्,”

यस्तै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद – जेर्भोसले नेपालमा संकटासन्न जनतालाई संरक्षण गर्न, उन्नत उत्पादकत्व र दिगो आर्थिक वृद्धिको मेरुदण्डका रुपमा रहेको मानव पूँजीको सुदृढीकरणका लागि योगदान गर्न उत्थानशील र समावेशी जनस्वास्थ्य प्रणाली निर्माण गर्न आफूहरु सरकारसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, र कोशी र गण्डकी प्रदेशका छनौट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा कार्यान्वयन गर्नेछ ।

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनौट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण गर्ने कार्यमा जोड दिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार १४ : ३६ बजे