भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन : अर्थमन्त्री महत

0
Shares

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले गएरातिदेखि नै भूकम्पपीडितको राहत र उद्धारमा तीनै तहका सरकारअन्तर्गत सबै संयन्त्रहरु परिचालित भइरहेको जानकारी दिए।

भूकम्पबाट पश्चिम नेपालको खासगरी रुकुम र जाजरकोट जिल्लामा ठूलो जनधनको क्षति भएको विवरणहरु प्राप्त भइरहेको जनाउँदै अर्थमन्त्री डा महतले यस विपत्तिको घडीमा सबै पक्षबाट सहयोगका लागि अपिल गरे।

उनले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन प्रकट गरे। अर्थमन्त्री डा महतले प्राकृतिक विपत्तिका घटनाको दीर्घकालीन समाधान र तयारीका निम्ति आवश्यक कार्य गर्न जरुरी भएको उल्लेख गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्पपीडितको राहतका लागि महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने बताए। रासस

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।