एनआरएनएले भूकम्पबाट पीडितलाई तत्काल २१ लाख रुपैयाँ सहयोग गर्ने

0
Shares

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दू बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्धार कार्य जारी छ ।

एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । सरकारले सुरु गरेको राहत कोषमा एनआरएन अभियन्ताहरुबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्ने अध्यक्ष शर्माले जानकारी दिए । उनले भने, ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’ साथै थप राहत तथा उद्धारका लागि एनआरएनए तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए ।

घटनास्थलमै पुगेर एनआरएनएले उद्धारमा सहभागिता जनाउने बताउँदै उनले केही एनआरएन अभियन्ताहरु भूकम्प प्रभावित क्षेत्र तर्फ गैसकेको र चिकित्सकीय टोलीसहित आफु पनि भूकम्प प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिए ।

भूकम्प सम्बन्धी सचेतना, जोखिम न्यूनीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना लगायतका काममा संघले नेपाल सरकारसंग सहकार्य गर्ने बताउंदै अध्यक्ष शर्माले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि दिल खोलेर सघाउन तथा आर्थिक लगायतका अन्य आवश्यक सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा संसारभरि रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।