ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारीमा पोखरेल नियुक्त

0
Shares

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले आइएमई समूहको उपाध्यक्ष समेत रहेका पोखरेललाई बैंकको डीसीईओमा नियुक्त गरेको हो ।

शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) सम्मको अध्ययन पूरा गरेका उनले एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टमा डिजिटल बिजनेस स्ट्राटेजी पढेका छन्। पोखरेल स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष छन् तथा डिस होम नेटवर्क प्रालिका सञ्चालक पनि छन् ।
डेपुटी सीईओ पोखरेलले आजै पदभार ग्रहण गर्न लागेको बैंक स्रोतले जानकारी दिएको छ । अहिले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी छन् ।

विनियुक्त डिसीईओ पोखरेल यसअघि एक दशकभन्दा बढी ग्लोबल आईएमई बैंकको प्रमुख प्रवद्र्धक आईएमई समूहका प्रमुख कार्यकारी अधिकृत हुँदै २०७८ चैतदेखि उपाध्यक्ष बनेका थिए । त्यसयता उनी भाइसप्रेसिडेन्ट पदमा कार्यरत रहँदै आएका छन् ।

एभरेष्ट बैंकबाट करिअर सुरु गरेका पोखरेलले ग्लोबल आईएमई बैंकमा तीन वर्ष काम गरेपछि केही वर्षअघि सञ्चालक समिति सदस्यमा चयन भएका थिए । ग्लोबल आईएमई बैंकमा तीन वर्ष जागिरेका रुपमा काम गरेका उनी सहायक प्रबन्धकबाट बैंकको जागिरबाट बाहिरिएका थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मर्जरपछि उनी पूर्णरूपमा समूहको प्रमुख कार्यकारी हुँदै भाइस प्रेसिडेन्ट भएका थिए ।

आईएमई ग्रुपले बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, अटोमोटिभ, जलविद्युत् हस्पिटालिटी, प्रविधि, इन्फोटेन्मेन्ट, रिटेल, लजिस्टिक्स लगायत आधा दर्जनभन्दा धेरै व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।