विदेशी सञ्चितिले साढे १२ महिनाको बस्तु आयात धान्ने, पुँजीगत ट्रान्सफर ५५ प्रतिशतले घट्यो


चालु आर्थिक वर्षको असोजसम्ममा विदेशी विनिमय सञ्चिति बढेर १६ अर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको छ । गत असारमा विदेशी विनिमय सञ्चिति १५ अर्ब ३९ अर्ब रुपैयाँ बराबरको थियो ।

२०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १६४३ अर्ब ९ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको हो । 

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई १४३३ अर्ब ३६ करोड रुपौयँ पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई २०९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । २०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

चालु आवको असोजमा चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

चालु आवको असोजसम्ममा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड कायम भएको छ । त्यसैगरी खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

चालु आवको असोजसम्ममा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।