कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए।
उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि ५ अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उनले बताए ।
‘सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ ।’ इन्ञ्जिनीयर केसीले भने,’सन् २०२४ देखि शुरूभई सन् २०२६ सम्म निर्माण सक्ने डिपिआरमा उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ।’
सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम शुरू गरिसकेको छ । सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ ।’दसरपन्ध्र दिनभित्रै प्रतिवेदन मन्त्रालयमा पेश हुन्छ ।’ इञ्जिनीयर केसीले भने–ुमन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि निमार्णकार्य अघि बढ्नेछ ।’ बन्दरगाह क्षेत्रमा १ हजार नौ सय ८९ रुख कटान गर्नुपर्ने हुन्छ ।
विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए । ‘यो नाका चालु भए नेपाल भारतबीच सहज आवागमन हुने र लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ ।’ उनले भने,’यहाँ औद्योगिक र कृषि क्षेत्रको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ । दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।बन्दरगाहको काम शुरू भइसकेको छ, अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्वतयारीमा लाग्न जरुरी छ ।’
यहाँका उत्पादन निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी रहेको उनको भनाइ थियो । यस पटक सरकारले सुख्खा बन्दरगाह निर्माण गर्नेमा यहाँका व्यवसायी आशावादी छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुख्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने बताए ।’अहिले लामोबाटो प्रयोग गरेर यहाँ सामान ल्याउनुपर्ने बाध्यता छ ।’ उनले भने, ‘यो नाकाबाट भारतका औद्योगिक क्षेत्र छोटो दूरीमा रहेकाले यहाँको व्यापारको लागत र समय घटाउछ ।’ यो नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार फस्टाउने अपेक्षा गरिएको छ । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया