डि-डलराइजेसनका लागि चीनको अर्को कदम, साउदीसँग ७ अर्ब डलरको मुद्रा विनिमय सम्झौता

0
Shares

अन्तर्राष्ट्रिय व्यापारमा डलरको एकाधिकार तोड्ने हरसम्भव प्रयास गरिरहेको चीनले साउदी अरेबियासँग ७ अर्ब डलर बराबरको मुद्रा विनिमय सम्झौता (करेन्सी स्वाप एग्रीमेन्ट) गरेको छ ।

साउदी अरेबियाले सामान्यतया पेट्रोलियम पदार्थ तथा कच्चा तेलको निर्यात डलरमा गर्दै आएको थियो । साउदीले कच्चा तेल निर्यात गर्ने राष्ट्रहरुको सूचीको शीर्षस्थानमा चीन रहेको छ । चिनियाँ भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनले सन् २०२२ मा साउदीबाट ६५ अर्ब बराबरको कच्चा तेल खरिद गरेको थियो । जुन साउदी अरेबियाले निर्यात गर्ने कुल निर्यातको ८३ प्रतिशत हो ।

साउदीसँग मुद्रा विनिमय सम्झौता गरेसँगै चीनले कच्चा तेलको निर्यातमा चिनियाँ युवान मार्फत भुक्तानी गर्ने छ । तनि वर्षका लागि गरिएको यस सम्झौतामा करिब ५० अर्ब युवान वा २६ अर्ब साउदी रियल स्वाप हुने आकलन गरिएको छ ।

पछिल्लो समयमा चीनले युवानको प्रयोगलाई अन्तराष्ट्रियकरण गर्दै गएको छ । अन्तराष्ट्रिय व्यापारमा डलरको एकाधिकार तोड्नका लागि चीनले युवानको प्रयोग बढाउँदै गएको छ भने चीन संलग्न भएको ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा समेत डलरको वर्चस्व हटाउन साझा मुद्राको विकास गर्ने अवधारणा अघि सारेको छ

चीनको डि-डलराइजेसनको अवधारणालाई अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध नभएका राष्ट्रहरुले साथ दिएका छन् । रुस, अर्जेन्टीना, ब्राजिल, दक्षिण अफ्रिका लगायतका राष्ट्रहरुले समेत अन्तराष्ट्रिय व्यापारमा डलरको विकल्प खोजीरहेका छन् । यसै अवसरको लाभ लिँदै चीनले युवानको प्रयोग बढाइरहेको छ । सेप्टेम्बर महिनामा जेपी मोर्गनले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनले कच्चा तेल तथा पेट्रोलियम पदार्थको खरिद बिक्री डलर बाहेकको अन्य मुद्रामा गर्दै आएको पाइएको छ ।

चीनले साउदी बाहेकका अन्य २९ देशहरुसँग समेत ४ ट्रिलियन युवान बराबरको मुद्रा विनिमय सम्झौता गरेको छ । ब्लुमबर्गको विश्लेषण अनुसार सेप्टेम्बर महिनामा मात्रै चीनले ११७ अर्ब युवान बराबरको करेन्सी स्वाप गरेको उल्लेख छ ।

जारी रुस–युक्रेन युद्धमा चीनले रुसलाई सहयोग गरिरहेको छ । चीनले रुसबाट पेट्रोलियम पदार्थ खरिद गरी रुसलाई युद्ध जारी राख्नका लागि आवश्यक रकम जोहो गरिदिएको छ । उता रुसले पनि चीनलाई युवानमै कच्चा तेल निर्यात गरिरहेको छ । अमेरिकासँग रुष्ट बनेको रुसले समेत आफ्नो विपक्ष तथा मित्रवत् सम्बन्ध नभएका देशहरुसँग रुसी रुबल मै कारोबार गर्न आदेश दिएको छ ।

यसरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र–चीनले विश्वकै शीर्ष अमेरिकी अर्थतन्त्रको मुद्रा डलरको एकाधिकार तोड्नका लागि नयाँ उपायहरुको खोजी गरिरहेको छ । चीनका यावत् प्रयासहरुका बावजुद अन्तराष्ट्रिय बजारमा डलरकै एकाधिकार यथावत् छ । हाल कुल अन्तराष्ट्रिय व्यापार मध्येको ८५ प्रतिशत डलरमा हुँदै आएको छ भने ५.८ प्रतिशत कारोबार युवानमा हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।