नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, हिमालयन लघुवित्तले नदिने

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने कम्पनी सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए ।

यसअनुसार इन्स्योरेन्सले आव २०७९–८० बाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९ रुपयाँ ७२ पैसाको १० प्रतिशतका दरले हुने आउने १४ करोड ९४लाख ७६हजार ५३९ रुपैयाँ ९७ पैसा बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६ रुपैयाँ ३१ पैसा नगद लाभांश वितरण गर्ने छ ।

कम्पनीले अघिल्लो आव २०७८–७० बाट चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हिमालयन लघुवित्तले वितरण नगर्ने

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०७९/२०८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । लघुवित्तको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैंठकले लाभांस वितरण नगर्ने निणर्य गरेको हो ।

हिमालयन लघुवित्तको सञ्चालक समितिका मंसिर ८ गते शुक्रबार बसेको २१९ औं बैठकले आर्थिक वर्ष २०७९–८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो । साथै बैठकले राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित र स्वीकृतको लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकले संस्थाको २०८० असारमसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु लगायत लेखासम्बन्धी नीति तथा टिप्पणीहरु माथि छलफल भई स्वीकृत गर्ने निर्णय भएको बरिष्ठ प्रबन्धक र कम्पनी सचिव देवकर कार्कीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।