भ्रष्टाचार गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सव–इन्जिनियर हर्षलाल चौधरीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नगरपालिकाको रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई बढी भुक्तानी गरेको पाइएको आयोगको ठहर छ ।

न्यौपाने, दाहाल, इन्जिनियर चौधरी र सव–इन्जिनियर चौधरीविरुद्ध २ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद एवं जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग गरिएको छ। उनीहरुले झुट्टा बिल स्वीकृत गरी बढी रकम भुक्तानी गरेको आयोगको ठहर छ ।

यस्तै तत्कालीन उपप्रमुख चौधरी, वडा–३ का तत्कालीन अध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरीविरुद्ध स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्युटमा हस्ताक्षर गरी गलत प्रतिवेदन दिने कसुर गरेकोले कैद र जरिवाना माग गरिएको छ।

ठेकेदार कम्पनी जालपा सिद्ध निर्माण सेवाका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) विरुद्ध २ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी बिगो जफत र सजाय माग गरिएको छ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।