फुटबलर रोनाल्डो विरुद्ध मुद्दा दायर, ‘एनएफटी’का लगानीकर्ताद्धारा एक अर्ब डलर क्षतिपूर्ति माग

0
Shares

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो विरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर भएको छ । क्रिप्टोकरेन्सी एक्सेन्जकर्ता बाइनान्सको प्रचार गरी लगानीकर्ता भ्रमित पारेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो ।

सन् २०२२ को नोभेम्बरमा बाइनान्सले रोनाल्डोसँगको सहकार्यमा ‘सीआर७’ नामको नन-फन्जिबल टोकन (एनएफटी) लन्च गरेको थियो । सोही क्रममा उनले आफ्ना सर्मथक तथा फ्यानहरुलाई लक्षित गरी सीआर७ अन्तर्गतका टोकनहरु उनलाई वर्षभरी साथ तथा समर्थन गर्ने फ्यानहरुलाई पुरस्कार स्वरुप प्रदान गर्ने बताएका थिए । जसकारण सीआर७ अन्तर्गतका एनएफटी टोकनहरुको मूल्य ७७ अमेरिकी डलर रहन पुगेको थियो ।

गत वर्षको नोभेम्बर महिनामा ७७ डलर कायम रहेको उक्त टोकनहरुको मूल्य हाल १ डलरमा झरेको छ । रोनाल्डोले प्रचार गरेकै कारण ती टोकनहरुको बारेमा बुझ्न खोज्ने मानिसहरुको सङ्ख्या बढेको र हालको तुलनामा ५०० प्रतिशतभन्दा धेरै पटक सीआर७ टोकनको बारेमा सर्च गरिएको बाइनान्सले जानकारी दिएको छ।

एनएफटी एक प्रकारको भर्चुअल सम्पत्ति हो जसको वास्तविक मूल्य हुँदैन तरपनि किनबेच गर्न मिल्छ । एनएफटीको मूल्य मागमा आधारमा तय हुने हुँदा यसको मूल्य स्थीर हुँदैन । अधिकांश देशहरुमा एनएफटीको कारोबारमा प्रतिबन्ध समेत लगाइएको छ ।

हाल उनी विरुद्ध एनएफटी लगानीकर्ताहरुले आफूहरुले गुमाएको एक अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् । अमेरिकी सेक्युरीटिज एन्ड एक्सेन्च कमीसनले कुनै पनि सेलीब्रेटीले क्रिप्टोकरेन्सीसँग सम्बन्धित वा अन्य लगानीसूत्रको बारेमा प्रचार गर्दा कम्पनीबाट कति रकम लिएको स्पष्ट पार्नु पर्ने प्रावधान गरेको छ ।

रोनाल्डोले आफूले बाइनान्सबाट कति रकम लिएर प्रचार गरेको भन्ने नखुलाउँदा उनलाई नै विश्वास गरेर एनएफटी खरिद गरेका लगानीकर्ताहरुले आफ्नो लगानी गुमाएका छन् । यस किसिमका घटनाहरुमा संलग्न भएका सेलीब्रेटीहरु मध्ये कसैले पनि प्रचारका लागि आफूले लिएको रकम सार्वजनिक गर्ने गरेका छैनन् ।

एक्सेन्च कमीसनका अध्यक्ष ग्यारी जेन्सलर भन्छन्, ‘सेलीब्रेटीहरुले कुनै पनि इन्भेष्टमेन्टको बारेमा प्रचार गर्दा कुन कम्पनीले कति रकम भुक्तानी गरेको छ भनी स्पष्ट खुलाउनुपर्छ ।’ यस्तै उनले लगानीकर्तालाई लक्षित गर्दै कुनै पनि इन्फ्लुयन्सरको कुरा पत्याउनु अघि त्यसको बारेमा अध्ययन गरेर मात्रै लगानी गर्नुपर्ने बताउँछन् ।

अमेरिकी न्याय विभागले बाइनान्सले लगानीकर्तालाई झुक्काएर ठगी गरेको, आतंकवादी क्रियाकलापमा प्रयोग हुने रकम ट्रान्सफरमा मदत गरेको आरोप पुष्टि गर्दै ४ अर्ब ३० करोड अमेरिकी डलर जरिवाना गरेपछि रोनाल्डोले गरेको प्रचारलाई लिएर मुद्दाहरु दायर भएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।