स्ट्याण्डर्ड चार्टर्डको पश्चिम नेपालका भूकम्प पीडितलाई एक करोड ३३ लाख सहयोग

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई एक लाख अमेरिकी डलर अर्थात एक करोड ३३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकले उक्त रकम बैंकको आपत्कालीन प्रतिक्रिया साझेदार ब्रिटिश रेडक्रस मार्फत उक्त सहयोग रकम उपलब्ध गराएको हो । उक्त रकम ब्रिटिश रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्ने छ ।

मानवीय सहायतास्वरुप बैंकले प्रदान गरेको उक्त रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्प पीडितको प्राथमिक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्नेछ विश्वास बैंकको छ । साथै भूकम्पमा आफ्नो घर गुमाएका र सम्पर्कमा आएका परिवारहरूलाई खाद्यान्न, पानी, र आपतकालीन आश्रय लगायतका राहत सामग्रीहरू वितरण गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले आवश्यकता तथा विपतको समयमा र नेपाली समुदायलाई सहयोग र समर्थन गर्न बैंक सधैं प्रतिबद्ध रहेको बताए । उनले भने, “नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा हामी आवश्यकताको समयमा सकारात्मक परिवर्तनको लागि बलियो स्थितिमा छौं । हामी आशा गर्दछौं कि हाम्रो सहयोगले राहत कार्यमा मद्दत गर्नेछ र यस दुर्भाग्यपूर्ण प्रकोपबाट गम्भीर रूपमा प्रभावित भएकाहरूलाई सहयोग गर्नेछ।” उनले आफ्ना समुदायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताउँदै बैंकको ब्राण्ड ‘राम्रोको लागि यहाँ’ को केन्द्रबिन्दुमा नै यसको भाव रहेको समेत बताए ।

जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भुकम्पमा परि जाजरकोट र रुकुममा ठूलो मात्रामा धनसम्पत्ति र मानवीय क्षति भएको थियो । नेपालमा सन् २०१५ यताकै सबैभन्दा ठूलो भूकम्प गएपछि स्ट्याण्डर्ड चार्टर्डले पीडित र उनीहरूका परिवारलाई खाना, आपतकालीन पाल र सुत्ने झोला उपलब्ध गराउने लगायतका आपत्कालीन प्रतिकार्यमा प्रत्यक्ष संलग्न भएको छ । रेडक्रसलाई सहयोग गर्न यस बैंकले आन्तरिक रूपमा पनि रकम जुटाउँदै आएको छ ।

बैंकले हालै मात्रै नेपालमा सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय बैंकको हैसियतमा लगातार चौथो वर्ष वित्तीय दायित्वहरू समयमै सेवा गर्ने सन्दर्भमा सबैभन्दा सुरक्षित क्रेडिट रेटिङ्ग प्राप्त गरेको छ । बैंकले इक्रा नेपालबाट ‘इक्रा एनपी आईआर ट्रिपल ए’ रेटिङको मान्यता प्राप्त गरेको छ । बैंक यो रेटिङ्ग प्राप्त नेपालमा सञ्चालित एक मात्र बैंक समेत हो । साथै स्ट्यान्डर्ड चार्टर्ड पीएलसी लन्डन र हङकङ स्टक एक्सचेन्जमा समेत सूचीकृत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।