विश्वको सबैभन्दा महंगो सहर सिंगापुर र जुरिच, सस्तो सिरियाको डमास्कस

0
Shares

हालै सार्वजनिक भएको वल्र्डवाइड कस्ट अफ लिभिङ प्रतिवेदनका अनुसार विश्वका महंगा सहरहरुको शीर्ष स्थानमा सिंगापुर र स्वीजरल्यान्डको जुरिच सहर रहेका छन्।

द इकोनोमिस्टको इकोनोमिस्ट इन्टेलीजेन्स युनिटले विश्वका १७३ सहरहरुको अध्ययन गरी वल्र्डवाइड कस्ट अफ लिभिङ प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले विश्वका महंगा सहरहरु, ती सहरहरुको कस्ट अफ लिभिङको अवस्था, मुद्रास्फीति र जिवीकोपार्जनका लागि सबैभन्दा महंगो सहरहरुको सूची सार्वजनिक गरेको छ ।

अध्ययन गरिएका कुल १७३ सहरहरु मध्ये शीर्ष १० मा अमेरिकाको सान–फ्रानसिस्को, आठौ स्थानमा इजरायलको तेलअबीब र डेन्मार्कको कोपेनहेगन, सातौँ स्थानमा फ्रान्सको पेरिस, छैठौँ स्थानमा अमेरिकाको लस एन्जलस, पाँचौ स्थानमा हङकङ, तेस्रो स्थानमा स्वीजरल्यान्डको जेनेभा र अमेरिकाको न्युवर्क र शीर्ष स्थानमा जुरिच र सिंगापुर रहेका छन् । विगत ११ वर्षमा सिंगापुर नौ पटक विश्वका महंगा सहरहरुको शीर्ष सूचीमा छ । यी सहरहरुको महंगी दर औसतमा ७.१ प्रतिशत रहेको छ । खाद्यान्न तथा सेवा क्षेत्रमा मूल्यवृद्धि हुँदा यी सहरहरुमा मूल्यवृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै विश्वका सस्तो सहरहरुको सूचीमा सबैभन्दा सस्तो सहर सिरियाको डमास्कस रहेको छ । डमास्कस बाहेक सस्तो सहरहरुको सूची अन्तर्गत अर्जेन्टीनाको बुएन्स एरिस, भारतको चेन्नाइ, नाइजेरियाको लागोस, भारतकै एहेम्दाबाद, जाम्बियाको लुसाका, युज्बेकीस्तानको तासकेन्ट, पाकिस्तानको कराची, लिबियाको ट्राइपोली, इरानको तेहरान रहेका छन् । सबैभन्दा सस्तो सहर डमास्कसमाको कस्ट अफ लिभिङ वार्षिक रुपमा ३२१ प्रतिशतले बढ्दा समेत डमास्कस सबैभन्दा सस्तो सहरमा सूचीत छ ।

सिरियाको स्वदेशी मुद्रामा आएको भारी गिरावटका कारण सहरमा मुद्रास्फीति बढेता पनि अध्ययन गरिएका १७३ सहरहरुमा सबैभन्दा सस्तो डमास्कस रहेको हो। हाल एक अमेरिकी डलर बराबर १३ हजार सिरियन पाउन्ड छ । यस्तै इरानको तेहरानमा मुद्रास्फीति दर ४९ प्रतिशत छ । तेस्रो सस्तो सहरमा सूचीत भएको ट्रिपोलियाको समेत मुद्रास्फीति दर उल्लेख्य रुपमा बढेको छ ।

सन् २०२३ मा सबैभन्दा धेरै कस्ट अफ लिभिङ भएको सहर भने भेनेजुवेलाको काराकस सहर रहेको छ । सन् २०१९ देखि २०२३ सम्ममा काराकस सहरको कस्ट अफ लिभिङ २५ हजार प्रतिशतले बढेको छ ।

सन् २०२२ मा रसले युक्रेनमा आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य बढेको थियो । सन् २०२३ मा पेट्रोलियम पदार्थको मूल्यमा घटेपनि खाद्यान्नको मूल्यमा भने उल्लेख्य गिरावट आएको छैन । जसकारण विश्वव्यापी रुपमा नै सन् २०२३ मा खाद्यान्न मुद्रास्फीति दर ७.८ प्रतिशत र लत्ताकपडाको मुद्रास्फीति दर ७.२ प्रतिशत कायम नै रहेको छ ।

यसरी इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा उच्च कस्ट अफ लिभिङ भएको सहर काराकस, सबैभन्दा महंगो सहर जुरिच र सिंगापुर र सबैभन्दा सस्तो सहर डमास्कस रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।