अर्थतन्त्रमा समस्या देखिएपनि संकटग्रस्त छैन : पूर्व अर्थमन्त्री खतिवडा

0
Shares

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था संकटमा नभएको बताएका छन् ।

मोरङ व्यापार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले हालको अवस्थामा नेपालको अर्थतन्त्र बटमलाइनमा रहेको बताएका हुन । नेपालको आर्थिक अवस्थालाई लिएर विभिन्न टिप्पणी भइरहेको समयमा खतिवडाले नेपालको अर्थतन्त्रमा समस्या देखिएपनि संकटमा नरहेको जिकिर गरे ।

पछिल्लो समयमा सार्वजनिक भएका प्रतिवेदनमा अर्थतन्त्रका केही परीसूचक सकरात्मक देखिएको तर्क गर्दै उनले अर्थतन्त्र सुधारका लागि वित्तीय नीति र आर्थिक नीतिमा तालमेल मिल्नु पर्ने उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्थाहरुले हौसिएर विकृत रुपमा कर्जा प्रवाह गर्दा हाल उद्योग, व्यवसायीहरुले कर्जाको ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको तथ्यलाई केलाउँदै उनले सबैले आ–आफ्नो ठाउँबाट आत्मसमीक्षा गर्नुपर्ने बताए । यस्तै सरकारले निजी क्षेत्र, उद्योगी, व्यवसायीहरुको समस्या समाधानमा ध्यान केन्द्रीत गर्नुभन्दा धेरै गठबन्धन जोगाउने विषयलाई प्राथमिकतामा राख्दा समस्या बढ्दै गएको उनको बुझाइ छ ।

वर्तमान समयमा उत्पादनको लागत बढिरहँदा समेत कारोबार बढ्न सकेको छैन । परिसूचकले अर्थतन्त्र सकरात्मक बाटोमा लम्केको निर्देष गरेपनि समस्याको जरामा नपुगी सतही रुपमा समस्या समाधान गरेजस्तो गर्दाको वृद्धि दीगो नहुने उनको तर्क छ।

यस्तै बैंक तथा वित्तीय संस्थाको गुनासो सुन्ने संस्था राष्ट्र बैंक रहेको तर उद्योगी, व्यवसायीका समस्याको सुनुवाइ उद्योग तथा वाणिज्य मन्त्रालयले गर्न नसकेका कारण उद्योगी व्यवसायीहरु हाल अभिभावक विहीन भएको उनको धारणा छ ।

अर्थतन्त्रको वर्तमान अवस्थामा संकट नदेखिएता पनि देखिएका संकटलाई फेदमा पुगेर समाधान गर्न नसक्दा समस्या बल्झिन सक्ने सम्भावना उत्तिकै रहेको उनले बताए । साथै अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले नीति निर्माणमा मात्रै नभई कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने उनको सुझाब छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।