स्टार हस्पिटलले कर्जा भुक्तानी गर्न सकेन, टाट पल्टिने संकेत

स्टार हस्पिटलले कर्जा भुक्तानी गर्न सकेन, टाट पल्टिने संकेत

ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले ८५ करोड ७० लाख बराबरको कर्जा भुक्तानी गर्न सकेको छैन ।

सन् २०२३ को अक्टोबर ३१ सम्मामा भुक्तानी गर्नुपर्ने सो कर्जा हस्पिटल सञ्चालक समितिले भुक्तानी गर्न नसक्दा रेटिङ एजेन्सी इक्रा नेपालले हस्पिटललाई 'डिफल्ट'कम्पनीको सूचीमा राखेको हो ।

हस्पिटलको साख समीक्षा गर्दै एजेन्सीले कम्पनीलाई 'डि' रेटिङ गरेको छ । पछिल्लो समयमा उपत्यकामा हस्पिटलहरुको संख्या बढ्दै गएको छ । उपत्यका बाहिरबाट आएका बिरामी सरकारी तथा अर्ध-सरकारी हस्पिटलहरुमा उपचारका लागि जाने र उपत्यकाका मानिसहरु अत्याधुनिक सुविधा सम्पन्न हस्पिटलहरुमा उपचार गराउने क्रम बढ्दो छ । जसकारण निजी क्षेत्रबाट सञ्चालनमा आएका हस्पिटलहरुबीच प्रतिस्पर्धा बढेको छ ।

आर्थिक वर्ष २०२२ मा ७४ करोड ५० लाख सञ्चालन आम्दानी गरेको हस्पिटलको आम्दानीमा ठूलो गिरावट आएको छ । आव २०२३ मा हस्पिटलले ४५ करोड १० लाख रुपैयाँ सन्चालन आम्दानी गरेको छ । घट्दै गएको आम्दानीका कारण अन्य वित्तीय सूचकांक समेत कमजोर देखिएका छन् । जसकारण हस्पिटल आगामी समयमा टाट पल्टिने सम्भावना बढेर गएको हो ।

सन् २००७ मा स्थापना भएको हस्पिटल सन् २०१० मा पब्लिक लिमिटेडमा परिणत भएको थियो । १०० श्यैयाको क्षमता रहेको स्टार हस्पिटलले मेडिकल, सर्जिकल र डायगोनास्टिक सेवा दिदै आएको छ । तर समयमा कर्जा भुक्तानी गर्न नसक्दा हस्पिटल टाट पल्टिने सम्भावना बढेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार १२ : २१ बजे