निक्षेप संकलन उपकरण मार्फत बिहीबार पनि २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार पनि २५ अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि बुधबार १० अर्ब रुपैयाँ उठाएको बैंकले बिहीबार नै थप २५ अर्ब उठाउन लागेको हो ।

गत बिहीबार (मङ्सिर १४ गते) निक्षेप संकलन मार्फत १५ अर्ब प्रशोचन गरेको केन्द्रीय बैंकले उक्त रकम परिपक्क भएपनि प्रणालीमा अधिक तरलताका कारण एक सातामा नै ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले मंङिसरपछि ‘डिपोजिट कलेक्सन’ उपकरण मार्फत बिहीबारसम्म कुल ८० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

वित्तीय प्रणालीमा अधिक तरलताका कारण ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेको छ । यसलाई बढाउनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकका अनुसार मङ्सिर १८ गते सोमबारसम्म बैंकहरुको औसत अन्तर बैंक दर १.०३ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करिडोरको तल्लो सीमा ४.५ प्रतिशत कायम गरेको थियो ।

बजारको तरलता, डिपोजिट रेट तथा समग्र प्रणालीको अवस्थालाई विश्लेषण गरेर केन्द्रीय बैंकको खुला बजार सञ्चालन समितिले बुधबार १० अर्बको निक्षेप संकलन उपकरण जारी गरेको हो । यस वित्तीय औजारमा लगानी गर्ने संस्थाले एक सातापछि सावाँ तथा ब्याज भुक्तानी पाउनेछन् । ब्याजदर भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । बोलकबोल घटिमा १० करोडदेखि ५ करोडले भाष् जानेगरी आह्वान गरिएको रकमसम्म गर्न सक्नेछन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । खुला बजार कारोबार संचालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

केन्द्रीय बैंकले बुधबार जारी गरेको निक्षेप संकलन उपकरणमा १० सहभागि बैंक तथा वित्तीय संस्थाले ३७ वटा बोल आवेदन मार्फत ३६ अर्ब ९५ करोड रुपैयाँको माग गरेका थिए ।यसअघि १७ गते आइतबारको निक्षेप संकलनका लागि ९ सहभागि बैंक तथा वित्तीय संस्थाले ४१ वटा बोल आवेदन मार्फत २५ अर्बको माग गरेका थिए । अधिक मागका कारण निक्षेप बोलकबोलको औसत रेट पनि १ प्रतिशत भन्दा तल झरेको छ । बुधबार औसत रेट ०.७०४८ प्रतिशत र आइतबार ०.९८८६ प्रतिशत कायम भएको थियो ।

केन्द्रीय बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ५९ अर्ब ६५ अर्ब रहेको छ । कर्जा लगानी ४९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८०.७५ प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।