पर्यटक बढेसँगै होटल सारथीको आम्दानी २९% ले बढ्यो, पौने ७ करोडको कारोबार

0
Shares

काभ्रेपलान्चोकको धुलिखेलमा सञ्चालन भइरहेको होटल सारथीले आर्थिक वर्ष २०२३ मा ६ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ । आर्थिक वर्ष २०२२ मा ५ करोड २० लाख सञ्चालन आम्दानी गरेको होटलको आम्दानी सन् २०२३ मा २८.८४ प्रतिशतले बढेको हो ।

होटलको आम्दानीमा भएको वृद्धिको प्रभाव अन्य वित्तीय सूचांकमा समेत परेको छ। आव २०२२ मा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहित होटलको नाफा कुल सञ्चालन आम्दानीको १६.४८ प्रतिशत थियो । उक्त नाफा आव २०२३ मा २८.३१ प्रतिशत पुगेको छ ।

सन् २०१४ मा सञ्चालनमा आएको उक्त होटल टुरिस्ट स्टान्डर्ड होटल हो । ‘होटल सारथी’ ब्रान्डनामबाट सञ्चालनमा आएको उक्त होटलको क्षमता ७५ कोठाको रहेको छ भने २.९३ एक्कर जमीनमा फैलिएको छ ।

धुलिखेलबाट काठमाडौँ उपत्यका सांस्कृतिक ट्रेकिङ ट्रेल सुरु हुने गर्छ । यस्तै धुलिखेलमा माउन्टेन बाइकिङ पनि गर्न सकिने हुँदा साहसीक पदयात्रा गर्न रुचाउने यात्रुहरुका लागि धुलिखेल गन्तव्यका रुपमा चिनिदै आएको छ । यसका साथै धार्मिक महत्व बोकेको धुलिखेलमा विदेशी पर्यटक अध्ययनका लागि समेत जाने गर्छन्। जसकारण त्यहाँ सञ्चालनमा रहेका होटलहरुको आम्दानी पछिल्लो क्रममा बढ्दै गएको छ ।

गत वर्षको तुलनामा पर्यटकहरुको आगमन बढेसँगै होटलको अकुपेन्सी रेटमा भएको वृद्धिका कारण होटलको आम्दानी बढेको छ । होटल प्रह्लाद प्याकुरेलको नेतृत्व र ध्रुव शर्माको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

होटलले ६० करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ५९ करोड बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र १ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरणका आधारण ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता २.८४ गुणा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।