स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिबाट प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ ।  भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा आइतबार सम्पन्न भएको ३७ औं वार्षिक साधारण सभाले साे लाभांश वितरणकाे प्रस्तावलाइ अनुमाेदन गरेकाे हो ।

आर्थिक वर्ष २०७९–८० मा कुल ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यस्तै बैंकको गत आर्थिक वर्षमा बैंकको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने करपछिको नाफा ५३.६० प्रतिशतले बढेर ३ अर्ब ५० करोड पुगेको बैंकले जनाकारी दिएको छ । 

समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्विटी अघिल्लो आवमा १४.२५ प्रतिशत रहेकोमा दक्षता र निरन्तर फोकसबाट वृद्धि गरी २०.८० प्रतिशत कायम गर्न बैंक सफल भएको छ । यस्तै गत आर्थिक वर्षमा बैंकले वितरण गरेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश विगत पाँच वर्ष यताकै उच्च हो । यो लाभांश अघिल्लो आवको तुलनामा २.५ प्रतिशत धेरै हो ।

बैंकका अध्यक्ष दारुवालाले सभालाई सम्बोधन गर्दै निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गरिन् । उनले भनिन्, “जोखिम व्यवस्थापनको बलियो आधारशिलामा भएको हाम्रो फोकस र पुँजीलाई अप्टिमाइज गर्ने हाम्रो रणनीतिले बैंकको सञ्चालनको इतिहासमा सबैभन्दा उच्च वित्तीय प्रतिफल दिन सफल भएका छौं । सेयरहोल्डरलाई उचित प्रतिफल दिनेगरी वित्तीय कार्यसम्पादन सुधारलाई हामी जारी राख्नेछौं ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।

बैंकले हालै मात्रै नेपालमा सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय बैंकको हैसियतमा लगातार चौथो वर्ष वित्तीय दायित्वहरू समयमै सेवा गर्ने सन्दर्भमा सबैभन्दा सुरक्षित क्रेडिट रेटिङ्ग प्राप्त गरेको छ । बैंकले इक्रा नेपालबाट ‘इक्रा एनपी आईआर ट्रिपल ए’ रेटिङको मान्यता प्राप्त गरेको छ । बैंक यो रेटिङ्ग प्राप्त नेपालमा सञ्चालित एक मात्र बैंक समेत हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।