सेयर बजारमा अर्को होटलको प्रवेश हुने, मङ्सिर २७ गते आईपीओ ल्याउने प्रस्ताव पारित गर्दै

0
Shares

सेयर बजारमा होटल तथा पर्यटनमुदक समुहमा सूचीकृत होटलहरुमा लगानीकर्ताको आकर्षण उच्च देखिऐपछि अर्को होटल पनि सेयर बजारमा प्रवेश हुने भएको छ ।  काठमाडौंको धुम्बाराहीमा चारतारे डिलक्स होटेल ‘अकामा होटेल’ सञ्चालन गरिरहेको सानिमा ग्रुपले उक्त होटलको सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

कम्पनीले मङ्सिर २७ गते आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा मंसीर २७ गते बुधबार दिउँसो २ बजे अकामा होटेलको रजिष्टर्ड कार्यालय, धुम्बाराही काठमाण्डौंमा बोलाइएको छ । गत मंसिर ५ गते बसेको सञ्चालक समतिको बैठकले उक्त मितिमा दोस्रो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

एनआरएनहरुको लगानी रहेको उक्त होटेलले सभा मार्फत सर्वसाधारणमा सेयर जारी गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने बताइएको छ ।सानिमा ग्रुपले “विश्वकै पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने” भन्ने नाराका साथ अकामा होटललाई स्थानीय नेवारी र हिमालयन संस्कृतिको फ्युजनका रूपमा प्रवर्द्धन गरेको छ । होटलमा स्वस्थ रहन स्वास्थ्य व्यायमशाला, रफ्रेशमेन्टको लागि पौंडी पोखरी, सौना, स्टीम र जाकुजी, कफि सप, रेष्टुरेष्ट र स्मारिका पसल जस्ता सेवा समेत छन् । सभा सम्मेलनका लागि ८ हजार स्क्वारफुटको चार वटा कन्फरेन्स हल र व्यक्तिगत, पारिवारिक तथा सामुहिक बसोबासका लागि उपयुक्त हुने खालका विभिन्न सात प्रकारका कोठाहरु उपलब्ध छन् ।

यस्तै सभाले कम्पनीमा प्रतिनिधित्व गर्ने स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९–८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, ततसम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् ।

हाल धितोपत्र बजारमा सोल्टी होटल्स, तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, चन्द्रागिरि हिल्स, कालिञ्चोक दर्शन लिमिटेड र सिटि होटल सूचीकृत रहेका छन् । आम्दानी कम भएा होटलका सेयरमूल्य पनि दोस्रो बजारमा उच्च हुँदा नयाँ लगानीकर्ता पनि सर्वसाधारणमा सेयर बिक्री गर्न आतुर देखिएका हुन् । आइतबारको बजार मुल्य अनुसार साल्टीको सेयर प्रतिकित्ता ४४० रुपैयाँ, तारागाउँ रिजेन्सीको ८१५ रुपैयाँ, ओरियन्टल होटलको ७९३ रुपैयाँ, चन्द्रागिरि हिल्सको १११४ रुपैयाँ, कालिञ्चोक दर्शन लिमिटेडको ८६३ रुपैयाँ ५० पैसा र सिटि होटलको ५९३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । सूचीकृत ६ मध्ये पाँच वटाले १०० रुपैयाँका दरमा तथा सोल्टी होटलले १० रुपैयाँ दरमा सर्वसाधारमा आईपीओ बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।