लक इन पिरियड खुल्ने बित्तिकै सुटुक्क सेयर बेच्न नमिल्ने, ३० दिन अघि नै जानकारी दिनुपर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुको लक इन पिरियड खुल्नु ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशित गरि सबैलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गरेको हो । सार्वजनिक रुपमा जारी भएको सूचना धितोपत्र बोर्ड, नेप्से र सीडीएसलाई पनि उपलब्ध गराउनु पर्ने निर्देशनमा उल्लेख छ।

सूचिकृत संगठित संस्थाहरुले लक इन पिरियड खुल्नु अघि ३० दिन कुन समुहको सेयर हो ?  कसले कति कित्ता सेयर बेच्ने हो ? सोको सम्पूर्ण विवरण नेप्से र सीडीएससीको वेभसाइटमा एक हप्तासम्म राख्नुपर्ने नियम लागु गरेको हो । यो नियम मंसिर २५ गतेदेखि नै लागु हुने बोर्डले जनाएको छ।

लकइनमा रहेका सेयरहरु एकाएक खुलेर कारोबार हुँदा सर्वसाधारण लगानीकर्ता फस्ने डर भएको भन्दै विरोध भएको थियो । यो व्यवस्था लागू भएसगै बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स बाहेकका कम्पनीका लगानीकर्ताहरुले लक इन पिरियड खुल्ने वित्तिकै सुटुक्क सेयर बेचेर भाग्न पाउने छैनन् ।

बिशेषगरि हाइड्रोपावर कम्पनी, सिमेन्ट लगायतका फ्रन्ट लाइन रेगुलेटर नभएका कम्पनीहरुले लक इन खुल्ने वित्तिकै सेयर बेचेर मुल लगानीकर्ताहरु निस्किने र बजार तल घटेका बेला फेरि बजारमा प्रवेश गरेर पुनः चलखेल गरिरहेको आरोप लागिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।