बीमाको विस्तार गर्न अझै जागरण फैलाउनुपर्नेमा सरोकारवालाको जोड

0
Shares

देशमा बीमाको विस्तार गर्न अझै जागरण फैलाउनुपर्नेमा जोड दिइएको छ । बीमा सम्बन्धी सरोकारवाला व्यक्ति र नाफिजमा आबद्ध पत्रकारहरुको शुक्रबार काठमाडौंको छैमलेमा आयोजित बीमा अन्तरक्रियामा बोल्ने वक्ताहरुलेसमापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा प्राधिकरणले आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालहरुबाट विद्यालय स्तरबाटै बीमाको चेतना अभिवृद्धि गर्नुपर्ने, बीमा कम्पनीहरुले पनि इनोभेटिभ प्रडक्ट ल्याउनुपर्ने र प्राधिकरणले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याइएको हो ।

प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारीस्तरमा नै बीमाको चेतना कम हुँदा अझैपनि धेरै सरकारी संरचनाहरुको बीमा हुन नसकेको भन्दै सरकारले आफ्नो भौतिक पूर्वाधार सम्पत्ति लगायतका दायित्वको बीमा गर्नुपर्ने धारणा राखे । उनले बीमाको सबैभन्दा बढी आवश्यकता भुँइ मान्छेहरुलाई रहेकाले उनीहरुलाई बीमाको दायामा ल्याउने काम सरोकारवालहरुबाट हुनुपर्ने बताए । निम्न आर्थिक अवस्था रहेका व्यक्तिहरुको बीमा स्थानीय तहबाट समेत गर्न सकिने उनको भनाई थियो । साथै उनले बीमा पहुँच विस्तार गर्न पत्रकार र बीमा क्षेत्रबीच सहकार्य आवश्यक रहेकाले बीमा विस्तार गर्न प्राधिकरण नाफिजसँग थप सहकार्य गर्न तयार रहेको समेत उल्लेख गरे ।

यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रिपरिषद्बाट स्वीकृत भएकाले यसले बीमा क्षेत्रको विस्तार र विकास सहयोग पुग्ने बताए । बीमा क्षेत्रको लागि राष्ट्रिय बीमा नीति कोसेढुंगा सावित हुने बताउँदै उनले बीमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको जानकारी दिए । बीमा नियमावली स्वीकृति भएपछि बीमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सूचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने उनले बताए ।

यसैगरी उनले अन्तरक्रिया कार्यक्रमले प्राधिकरण र पत्रकारबीच सही ढंगले सहकार्य गर्ने आधार तय भएको बताए । बीमा सम्बन्धी समसामयिक बिषयमा धारणा विकास गर्न पत्रकार सहयोग पुग्ने पनि उनको भनाइ छ । यस्तै, नाफिजका अध्यक्ष मोदनाथ ढकालले बीमा सचेतना बढाउन नाफिज सहकार्य गर्न तयार रहेको बताए । प्राधिकरण, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ सहकार्य गरेर बीमा जागरण बनाउन नाफिज तयार रहेको उनको धारणा छ ।

‘हामीले यसअघि पुँजीबजार सम्बन्धी जागरण विस्तार गर्न प्रदेशगत रुपमा काम गरिसकेको छौं । अब बीमा सम्बन्धी सचेतना जगाउन पनि सहकार्य गर्न तयार छौं,’ आर्थिक पत्रकारहरुको क्षमता विकास गर्न र कल्याणकारी काम गर्न नाफिज स्थापना भएको बताउँदै अध्यक्ष ढकालले भने, ‘नाफिज करिब ३०० आर्थिक पत्रकारहरुको संस्था हो । यो ट्रेड युनियन भन्दा पनि आर्थिक पत्रकारहरुको क्षमता विकास गर्ने र कल्याणकारी काम गर्ने गरि यो स्थापना भएको हो,’

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम जस्ता कार्यक्रम सञ्चालन आएको र कल्याणकारीतर्फ पहिलो पटक सदस्यहरुको कोरोना बीमा गरिएको जानकारी दिँदै उनले नाफिज सदस्यहरुको स्वास्थ्य र दुर्घटना बीमा गर्ने तयारीमा रहेको समेत जानकारी दिए ।

यसैगरी नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले विद्यालयस्तरबाट नै विद्यार्थीहरुलाई बीमा सम्बन्धी शिक्षा र चेतना बढाउनुपर्ने बताए । त्यस मोडेलमा अघि बढे तल्लो स्तरबाटै बीमाको पहुँच विस्तार हुने उनको बुझाई छ ।

‘हामीले विद्यार्थीमा बीमा सम्बन्धी जागरण ल्याउन सकेमा उनीहरुले घरका अन्य सदस्यहरुलाई पनि बीमाबारे बुझाउन सक्छन् । त्यसले बीमाको जागरण विस्तार गर्न ठूलो सहयोग पुग्छ,’ उनले भने, ‘बीमाका लागि व्यवसायीक बजार पनि ठूलो छ । अब बीमा जागरणसँगै इनोभेटीभ प्रडक्ट लिएर अघि बढ्नुपर्छ । त्यसका लागि हामी नाफिजसँग सहकार्य गर्न तयार छौं ।’

यस्तै, निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि यस कार्यक्रमले बीमा जागरण विस्तार गर्न ठूलो सहयोग पुग्ने बताए । ‘पत्रकारको एउटा धर्म, स्पष्ट रुपमा सही सूचना दिनु पनि हो । यो कार्यक्रमले पत्रकारहरुमा बीमा सम्बन्धी ज्ञान अझै बढेको र त्यसले गर्दा समाजमा बीमाबारे सही सूचना जाने अपेक्षा छ,’ उनले भने, ‘साथै, हामी नाफिजसँग सहकार्य गरेर बीमा सचेतना बढाउने काम गर्न तयार पनि छौं ।’

कार्यक्रममा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरु, नेपाल जीवन बीमक संघ तथा नेपाल बीमक संघका प्रतिनिधि र नाफिजमा आबद्ध आर्थिक पत्रकारहरुको उपस्थीति थियो । कार्यक्रममा प्राधिकरणका उप–निर्देशक शाम्भराज लामिछानेले प्राधिकरणले गर्नेे बीमाको सुपरिवेक्षण तथा नियमनबारे र उप–निर्देशक निर्मला मल्लले बीमाङ्कीय मूल्याङ्कनबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रमको समापन समारोहको अध्यक्षता प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले गरेका थिए भने सञ्चालन नाफिज महासचिव नविन ढुङ्गनाले गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।