क्वारेन्टिन चेकपोष्ट सञ्चालनपछि आयात–निर्यात सहज


कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो ।

चेकपोष्ट कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले कार्यालयले विरुवा तथा विरुवाजन्य वस्तुको पैठारीका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने, विरुवा तथा विरुवाजन्य वस्तुको निकासीका लागि विरुवाको स्वास्थ्यतासम्बन्धी प्रमाणपत्र जारी गर्ने र नाकामा आयात हुने अन्य कृषिजन्य मालवस्तुको निरीक्षण गरेर छुटपूर्जि दिने लगायतका काम गर्दै आएको बताए ।

यो नाकामा विगतमा टुरमुकामका रुपमा क्वारेन्टिन कार्यालय थियो । उक्त कार्यालय झण्डै चार महिनादेखि बन्द भएपछि वस्तुको आयात तथा निर्यातको काम ठप्प हुनपुगेको थियो । कार्यालय प्रमुख ठगुन्नाले कार्यालय सञ्चालनसँगै हाल औषतमा दैनिक एक करोड रुपैयाँ बराबरको मालवस्तु आयात भइरहेको जानकारी दिए । यस अवधिमा २६ लाख रुपैयाँ बराबरको तोरीको पिना निर्यात भएको उनको भनाइ छ ।

विवेक फिड इन्डस्ट्रिज प्रालि धनगढीका प्रबन्ध सञ्चालक विवेक भट्ट त्रिनगर नाकामा क्वारेन्टिनको काम रोकिँदा झण्डै चार महिनासम्म करिब ३७ करोड रुपैयाँको राजश्व प्रदेशले गुमाएको बताए । “त्रिनगर नाकामा क्वारेन्टिनको काम नहुँदा नेपालगञ्ज नाकाबाट मालवस्तु भित्र्याउनुपर्ने अवस्थाले सुदूरपश्चिम प्रदेशका व्यसायीको पैंसा(कर) अरु प्रदेशमा गयो”, भट्टले भने ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।