हिमालयन रि इन्स्योरेन्स आईपीओ: ७ घण्टामा १ लाख २० हजारले मागे २६ लाख कित्ता सेयर


हिमालयन रि इन्स्योरेन्सले थप गरेको १ दिनको पछिल्लो ७ घण्टामा मात्र १ लाख २० हजार ५९२ वटा आवेदन परेको छ । उक्त अवधिमा मात्र २५ लाख ९६ हजार २१० कित्ता सेयरका लागि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

सोमबार बिहान १० बजेसम्ममा कम्पनीको आईपीओमा कुल १५ लाख ३९ हजार ४३० वटा आवेदनबाट २ करोड ९६ लाख १८ हजार ८६० कित्ता सेयर माग भएको थियो । साँझ ५ बजे सेयर निष्काशन बन्द हुँदासम्ममा कुल १६ लाख ६० हजार २२ वटा आवेदनबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयर माग भएको छ । उल्लेखित आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँको सेयर माग गरेको सिडिएससीले जनाएको छ ।

कम्पनीले मङ्सिर २७ गते बुधबारदेखि सर्वसाधारणमा आईपीओ निष्काशन सुरु गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा गएका, कम्पनीका कर्मचारी तथा सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

सोमबर साँझसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार कम्पनीको सेयरका प्रयेक आवेदकलाई औसतमा १५ कित्ताको दरमा सेयर वितरण गर्न पुग्छ । १० कित्ते नीतिका कारण सबै आवेदकले १० कित्ता सेयर पाउने निश्चित छ भने यसरी वितरण गर्दा धेरै भएको सेयर गोलाप्रथाबाट १० कित्ताको दरले फेरि वितरण हुनेछ । यस आधारमा ८ लाख ३० हजार आवेदकले थप १० कित्ता सेयर पाउनेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

निष्काशित आईपीओ कम्पनीले बाँडफाँड गरी सेयर सूचीकरण गराएसँगै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।