मुक्तिनाथ विकास बैंकको सूचीकरण स्थगन, नेप्सेले माग्यो स्पष्टिकरण

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडको धितोपत्र सूचीकरण स्थगन भएको छ । बैंकले कारोबार समयमा बैठक बसेर लाभांशको निर्णय गरेसँगै नेप्सेले बैंकको धितोपत्रको सूचीकरण स्थगित गर्दै ७२ घण्टे स्पष्टिकरण सोधेको हो ।

पुस ५ गते बिहीबार दिनको २ः३० बजे कारोबार समयमा बैंक सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०७९–८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम स्पष्टिकरण सोधेको हो ।

धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर बैंकले विनियममा भएको उक्त व्यवस्था पालना नगरेपछि धितोपत्रको कारोबार स्थगन गर्दै के कति कारणबाट कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा सम्बन्धी निर्णय गरेको हो ? सो सम्बन्धमा तीन कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

बैंकले पुस ५ गते बिहीबार दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।