वैदेशिक व्यापारमा गिरावट, ५ महिनाको व्यापार घाटा पौने ६ खर्ब

0
Shares

चालु आर्थिक वर्ष २०८०/८१ को पाचौं महिना अर्थात मंसिर महिनासम्ममा मुलुकको व्यापार घाटा पौने ६ खर्ब पुगेको छ । वैदेशिक व्यपारमा गिरावट आउँदा व्यापार घाटा केहि घटेको छ । आर्थिक गतिविधि बढ्न नसक्दा आयात तथा निर्यात दुवै घटेका छन ।

भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३.०९ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

मंसिर महिनासम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक व्यापार ३.६४ प्रतिशत रहेको छ ।

मंसिर महिनासम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात ३.३९ प्रतिशतले घटेको छ भने निर्यात ६.०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार मंसिर महिनासम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोडरुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।