देशभर सञ्चालनमा रहेका २९ मध्ये १३ नाकाबाट निर्यात शून्य

0
Shares

चालु आर्थिक वर्षकोे पाँच महिनामा देशभर सञ्चालनमा रहेका २९ नाकामध्ये १३ वटा भन्सार नाकाबाट निर्यात शून्य भएको छ । यस अवधिमा १६ भन्सारबाट मात्रै निर्यात भएको हो ।

मंसिर मसान्तसम्म १९ भन्सार नाकाबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रूपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागका अनुसार त्रिवेणी नाका, पशुपतिनगर, गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थल, थाडी, भद्रपुर, महेशपुर, सती, राजविराज, पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौर, चोबार, सुथाउली नाकाबाट शून्य निर्यात भएको हो । यस्तै जनकपुर, कन्चनपुर र सुनसरी नाकाबाट एक करोड रुपैयाँभन्दा कम मात्र निर्यात भएको छ।

चालु आवको पाँच महिना अवधिमा चार नाकाबाट सर्वाधिक निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै वीरगंज नाकाबाट निर्यात भएको छ । वीरगंज नाकाबाट कुल निर्यातको २४.८४ प्रतिशत अर्थात् १५ अर्ब ७० करोड ४ लाख ५६ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।

यस्तै सबैभन्दा बढी निर्यात हुनेको दोस्रो स्थानमा भैरहवा नाका रहेको छ । भैरहवाबाट कुल निर्यातको २०.३८ प्रतिशत अर्थात १२ अर्ब ८८ करोड ३८ लाख १६ हजार रुपैयाँको बराबरको वस्तु निर्यात भएको छ । निर्यात धेरै हुने तेस्रो स्थानमा वीरगंज सुख्खा बन्दरगाहबाट भएको छ । यो नाकाबाट कुल निर्यातको १९.६३ प्रतिशत अर्थात् १२ अर्ब ४० करोड ९२ लाख १६ हजार रुपैयाँको वस्तु निर्यात भएको हो।

बिराटनगर भन्सार नाका चौथो स्थानमा रहेको छ । यो नाकाबाट कुल निर्यातको १६.५१ प्रतिशत अर्थात् १० अर्ब ४३ करोड ५३ लाख ५६ हजार बराबरको मालवस्तु निर्यात् भएको छ । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ अर्ब ४२ करोड ३ लाख ६० हजारको वस्तु निर्यात भएको छ भने नेपालगन्ज नाकाबाट १ अर्ब ९८ करोड ४६ लाख ९६ हजार बराबरको वस्तु निर्यात भएको छ ।

कोभिडकालमा बन्द भएको रसुवागढी नाकाबाट चालु आवको पछिल्लो पाँच महिनामा १ अर्ब ७७ करोड ३७ लाख ९ हजार रुपैयाँको सामान नेपालले निर्यात गरेको छ । मेची भन्सारनाकाबाट कुल निर्यातको १.४४ प्रतिशत हिस्सा अर्थात् ९१ करोड ९ लाख २६ हजारको निर्यात भएको छ भने तातोपानी नाकाबाट ७४ करोड ८ लाख ३६ हजार र कैलाली नाकाबाट ५७ करोड १० लाख ५३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

यस्तै कृष्णनगर नाकाबाट २४ करोड ६१ लाख ७७ हजार बराबरको वस्तु निर्यात भएको छ । जलेश्वर नाकाबाट १० करोड ३८ लाख ३९ हजारको वस्तु, सर्लाही नाकाबाट १ करोड ६८ लाख १७ हजारको सामाग्री निर्यात गरिएको छ ।

कुल निर्यातमा उच्च निर्यात गर्ने पाँच नाकाको हिस्सा ८९.९४ प्रतिशत रहेको छ । सो नाकाबाट मात्रै ५६ अर्ब ८४ करोड ९२ लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

वीरगंज नाकाबाट सबैभन्दा धेरै आयात

चालु आर्थिक वर्षको ५ महिना अवधिमा अन्य देशहरुबाट नेपाल आयात हुनेमा सबैभन्दा धेरै आयात वीरगंज नाकाबाट भएको छ । कुल आयातको ३३.८९ प्रतिशत हिस्सा अर्थात् २ खर्ब १७ अर्ब ६५ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको मालवस्तु वीरगंज नाकाबाट नेपाल भित्रिएको छ ।

धेरै आयात हुने नाकाहरुको दोस्रो स्थानमा भैरहवा नाका रहेको छ । भैरहवा नाकाबाट कुल आयातको १५.३७ प्रतिशत अर्थात् ९८ अर्ब ६९ करोड ३२ लाख रुपैयाँको आयात भएको हो । यस्तै वीरगंज सुख्खा बन्दरगाहबाट ८८ अर्ब ७६ करोड १ लाख बराबरको वस्तु आयात भएको छ भने बिराटनगर नाकाबाट ६८ अर्ब ९८ करोड ७१ लाख बराबरको वस्तु नेपालले आयात गरेको छ ।

पछिल्लो पाँच महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५७ अर्ब ४८ करोड ८ लाख बराबरको सामान आयात भएको छ । यी पाँच नाकाहरुबाट कुल आयातको ८२.७७ प्रतिशत वस्तु आयात भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।