जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड र किसान होल्डिङ लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । दुबै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित पुस २८ गते शनिबार वार्षिक साधारण सभा बोलाएका हुन् ।
गत असार २८ गतेदेखि साविकको जगदम्बा हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेड पब्लिक कम्पनीमा परिणत भएपछि सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागेको हो । पुस २८ गते काठमाडौं, नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आह्वान गरिएको प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालन निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
यसैगरी किसान होल्डिङले पनि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित पुस २८ गते शनिबार हेरिटेज प्लाजामा अपरान्ह १ बजे वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति सहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
