व्यापार नाफा हुने देशहरुमा नेपालले निर्यात गर्छ यस्ता वस्तु : कार्पेट, छुर्पी, कागज देखि छाताको कभर

0
Shares

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालले ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । नेपालले व्यापार गर्ने कुल १५१ देशहरुमध्ये २५ देशसँग नेपालको व्यापार नाफा रहेको छ ।

व्यापार नाफा हुने राष्ट्रहरुमा नेपालले कार्पेट, छुर्पी लगायतका सामाग्री निर्यात गर्दै आएको छ । व्यापार नाफा हुने शीर्ष १० देशहरुमा अमेरिका, डेन्मार्क, नर्वे, माल्दिभ्स, क्रोसिया, मौरीसीयस, न्यु क्लेडोनिया, चाड, सुडान र जर्जिया रहेका छन् ।

चालु आर्थिक वर्षको पाँच महिनासम्ममा नेपालले अमेरिका ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । मंसिर महिनासम्म नेपालले २ अर्ब ६९ करोड ७४ लाख २१ हजार रुपैयाँ बराबरको कार्पेट बिक्री गरेको छ भने १ अर्ब ३ करोड ९० लाख ७२ हजार बराबरको डग फूड (छुर्पी) बिक्री गरेको छ ।

यसका साथै नेपालले ८२ करोडको फेल्ट, २३ करोड ७९ लाख बराबरको महिलाले लगाउने कटनको ट्राउजर, २१ करोड ५ लाख बराबरको महिलाले लगाउने कटनको लुगा तथा १७ करोड ९० लाख बराबरको लि, १२ करोड ६७ लाख बराबरको कसमिरी कार्डिगन निर्यात गरेको छ । यस्तै नेपालले २२ करोड ४२ लाख बराबरको सेरामिक्सद्धारा निर्मित सामाग्रीहरु अमेरिकालाई बिक्री गरेको हो । यस्तै नेपालले क्रिस्मस फेल्ट, कटन ब्लेजर, फेल्ट, टेक्सटाइल, जनावरहरुको प्रशोधित रौं, नेपाली कागज लगायतका सामाग्रीहरु निर्यात गरेको छ ।

व्यापार नाफा हुने दोस्रो देशमा डेनमार्क रहेको छ । नेपालले डेनमार्कमा ४३ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । जसअन्तर्गत २३ करोड बराबरको फेल्ट, २ करोड ४९ लाख बराबरको कसमीरी सल, ६ करोड बराबरको कसमीरी जर्सी, २ करोड ७१ लाख बराबरको क्रिस्मस सामाग्री बिक्री गरेको हो ।

यस्तै नेपालले कटनको बोरा, झोला, सेरामीक्स, कटनको महिलाको लुगा, ट्राउजर, लेदरको जुत्ता, सोल, कार्पेट लगायतका सामाग्री निर्यात गरेको छ ।

नेपालले व्यापार नाफा गर्ने राष्ट्रहरुको तेस्रो स्थानमा नर्वे रहेको छ । नर्वेसँग नेपालले ९ करोड २५ लाख बराबरको वस्तु निर्यात गरेको छ । जसअन्तर्गत १ करोड ८४ लाख बराबरको कसमीरी जर्सी र कार्डिगन रहेको छ भने १ करोड ७४ लाख बराबरको फेल्ट निर्यात गरेको छ । यस्तै नेपालले ८२ लाख बराबरको बुनेको सल र मफलर, ७९ लाख बराबरको छाताको कभर, ६२ लाख बराबरको ऊलको सल, ३४ लाख बराबरको कुसनको कभर, २६ लाखको कटनको ब्लेजर, २१ लाखको महिलाले लगाउने ज्याकेट निर्यात गरेको छ ।

यस्तै नेपालले माल्दिभ्ससँग २ करोड ३७ लाख २१ हजार नाफा गरेको छ । नेपालले माल्दिभ्समा कार्पेट र सांगितिक बाध्यबाधनका सामाग्री निर्यात गरेको हो । नेपालले मंसिर सम्ममा २ करोड ३३ लाखको कार्पेट र ३ लाख ७२ हजार बराबरको म्युजिकल इन्स्ट्रुमेन्ट निर्यात गरेको हो ।

नेपालले ९० लाख ६६ हजार रुपैयाँ बराबरको सामाग्री क्रोसिया निर्यात गरेको छ । नेपालले ८९ लाख ११ हजार रुपैयाँ बराबरको केस र कन्टेनर बिक्री गरेको छ भने १ लाख ५५ हजार रुपैयाँ बराबरको महिलाले लगाउने ज्याकेट बिक्री गरेको हो ।

व्यापार नाफा भएको अर्को देश मौरीसस सँग नेपालले ६६ लाख ४५ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । जसअन्तर्गत ३७ लाख बराबरको सुजी, २० लाख बराबरको गहुँको पीठो, ७ लाख बराबरको कसमीरी जर्सी र १ लाख बराबरको सल रहेको छ ।

न्युक्यालेडोनियासँग नेपालले ५८ लाखको सामाग्री निर्यात गरेको छ । जसअन्तर्गत ५३ लाखको कटनका लत्ताकपडा रहेका छन् भने ४ लाख बराबरको चाँदीको गहना र १ लाखको म्युजीकल इन्स्ट्रुमेन्ट रहको छ ।

यस्तै चाडमा नेपालले ४७ लाख ५४ हजर बराबरको भ्याक्सीन, टोक्सीन निर्यात गरेको छ । सुडानसँग नेपालले ४१ लाख ८५ हजार बराबरको ¥याग, स्क््रयाप ट्याइन बिक्री गरेको छ । यस्तै नेपालले जर्जियामा ११ लाख बराबरको कार्पेट, १९ लाख बराबरको कटन ट्राउजर, ३ लाखको कफी, २ लाखको ज्याकेट र १ लाखको सल बिक्री गरेको छ ।

नेपालको व्यापार घाटा १२६ देशहरुसँग छ । जसअन्तर्गत सबैभन्दा धेरै घाटा छिमेकी देश भारत र चनिसँग छ । पछिल्लो पाँच महिनामा नेपालले भारतबाट ३ खर्ब ९४ अर्ब ८० करोड बराबरको सामान आयात गरेको छ भने ४२ अर्ब ३ करोड बराबरको सामाग्री निर्यात गरेको छ ।

नेपालले मुख्यतया भारतमा फर्मेन्टेड चिया, अलैंची, पाल्मोलीन, अम्रिसो, प्रशोधित पाम आयल लगायतका सामाग्रीहरु निर्यात गर्दै आएको छ ।

यस्तै व्यापार घाटा हुने दोस्रो ठुलो देश चीन हो । चालु आवको मंसिर महिनासम्म नेपालले चीनबाट १ खर्ब २५ अर्ब ६२ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ अर्ब ३ करोड ३४ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जसअन्तर्गत नेपालबाट कटनका लत्ताकपडा, सल, राडीपाखी, टेक्सटाइल लगायतका सामाग्रीहरु निर्यात भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।