बक्यौता नतिर्ने सबै उद्योगको लाइन क्रमशः काट्छौं, ६१ उद्योगको सवा २२ अर्ब बक्यौता छ: प्राधिकरण

0
Shares

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने सबै उद्योगहरुको लाइन क्रमश काट्दै जाने स्पष्ट पारेको छ ।

डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंसिर २०८० सम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता रहेको जानकारी दिए ।

उनले यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको र उनीहरुको बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ रहेको बताए । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने अन्य उद्योगहरुको लाइन पनि क्रमश काट्दै जाने उनले प्रष्ट पारे ।

घिसिङले डेडेकेटेड र ट्रंक लाइनको विषयमा आफूले कुनै तथ्यांक नलुकाएको भन्दै सबै तथ्यांक उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताए । उनका अनुसार २३९ ग्राहकमध्ये १७८ ग्राहकले प्रिमियमसहितको विद्युत् महसुल समयमै बुझाएर भुक्तानी गरिसकेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार २०८० को मंसिर मसान्तसम्म ६१ वटा उद्योगले २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।