म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।
रोका दम्पतीले सङ्घलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेको हो । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले सङ्घका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको सङ्घलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । सङ्घको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।
यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया