अवैध बाटोबाट अत्यधिक मालवस्तु भित्रिएकोमा भन्सार एजेन्ट संघको चिन्ता

0
Shares

नेपाल भन्सार एजेन्ट संघ काठमाडौं जिल्लाको तेह्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

काठमाडौंको वानेश्वर ब्याङ्केटमा सम्पन्न भएको साधरणा सभामा प्रमुख अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा देखिएका समस्या र चुनौतीहरूको क्रमशः सुधार गर्दै जाने बताए ।

उनले धेरै प्रकारका समस्या झेल्दै आएका व्यवसायीहरूलाई क्रमशः सहजीकण गर्दै लाने प्रतिबद्धता समेत व्यक्त गरे । भन्सार एजेन्टहरूले पुलको काम गरेको भन्दै उनले इमानदारीपूर्वक काम गर्न भन्सार एजेन्टहरूलाई आग्रह गरे ।

कार्यक्रममा भन्सार एजेन्ट महासंघका अध्यक्ष भरतराज घिमिरेले सरकारका विभिन्न विभागहरूले व्यवसायीलाई अनावश्यक दुख दिएको भन्दै सहजीकरण र एकद्वार प्रणालीको व्यवस्था गर्न सरकारलाई सुझाउ दिए ।

कार्यक्रमका अर्का अतिथि नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले भन्सार एजेन्टहरूले आयातलाई भन्दा निर्यातलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए ।

भन्सार एजेन्ट महासंघका संस्थापक एवं संघका संस्थापक जयप्रसाद शिवाकोटीले व्यापारीहरूले भन्सार मूल्यांकनको विषयलाई लिएर व्यवसायी तथा स्वयं एजेन्टले पनि दुख पाइरहेको चर्चा गर्दै भन्सार ऐन सुधार गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रममा अर्का अतिथि निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोख्रेल , नेपाल फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारी, नेपाल कुरियर संघका उपाध्यक्ष तिलराज खतिवडा र काठमाडौं भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष शिशिर बहादुर गौतमलगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सभापतिको आसन ग्रहण गर्दै नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष गौतम भट्टले भन्सार एजेन्टहरूले भोग्नुपरेका विभिन्न समस्या र समाधानका उपायका बारे आफ्नो धारणा व्यक्त गरे ।

साधारण सभाको बन्दसत्रले नेपाल भन्सार एजेन्ट संघ काठमाडौंको विधान संशोधन प्रस्ताव पारित गरेको संघका सदस्य सुमन निरौलाले नयाँ सडकलाई बताए ।
बन्द सत्रले सचिव होमनाथ धमला र कोषाध्यक्ष शिवराज रिजालले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत पारित गरिएको सचिव धमलाले बताए । सभामा विधान संशोधन, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिकलगायतका विषयमा प्रस्तुत प्रस्ताव पारित गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।