नेपालमै उद्योग व्यवसायको माहौल बढाउँ, रोजगारी यही सिर्जना गरौं: अर्थमन्त्री डा. महत

नेपालमै उद्योग व्यवसायको माहौल बढाउँ, रोजगारी यही सिर्जना गरौं: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैँ खुला रहेको बताएका छन् ।

मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाउँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं ।’

उनले भने, ‘विदेशबाट फर्केर आएका यूवाहरुले पुँजी र सीप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यावसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न म अनुरोध गर्दछु ।’

हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक संकेतहरु देखिने र आर्थिक वृद्धि हुने मन्त्री डा महतले बताए । उनले भने, ‘अहिले जति पनि तथ्यांकहरु छन्, यी तथ्याङ्कले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ । हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेट मार्फत् घोषणा गरेका थियौं, अहिले मूल्यवृद्धि ५.३८ मा झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ ।’

मन्त्री डा. महतले भने, ‘सेयर कारोबार सूचक मापक नेप्से १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैंकहरुले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’

हाम्रो पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उनको भनाइ थियो । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनले बताए । ‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो । यो पुँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकरात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौं ।’ उनले भने ।

अहिलेको आवश्यकता भनेको आत्मविश्वास रहेको छ, यो देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको छ’ उनले भने, ‘अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सकारात्मक बहसको थालनी गर्न अनुरोध गर्दछु ।’

आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा। महतको भनाइ छ । उनले भने, ‘खुला सीमा भएकाले अझ धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ । सबैको सहयोगको आवश्यकता छ । पारी गएर किनमेल गर्ने प्रवृत्ति बढी छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले सामूहिक प्रयास थाल्नुपर्छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार १८ : ०५ बजे