केही वर्ष निकै चर्चा बटुलेको तर पछिल्लो समयमा खासै चर्चामा नआएको विषय हो– क्रिप्टोमार्केट । विश्वव्यापी रुपमा चर्को आलोचना र केही देशहरुमा प्रतिबन्ध समेत लगाइएको क्रिप्टोकरेन्सी सन् २०२२ मा निरन्तर गिरावट आएता पनि सन् २०२३ को अन्त्य तिर फस्टाउन थालेकोमा सन् २०२४ को सुरुवातमै २१ महिना यताकै उच्च पुगेको छ ।
सन् २०२१ को नोभेम्बर महिनामा क्रिप्टोकरेन्सीहरुको अग्रणी क्रिप्टोकरेन्सी– बिटकोइनको मूल्य शीर्ष उचाइमा पुगेको थियो । प्रति कोइन ६९ हजार अमेरिकी डलर पुगेको बिटकोइनको मूल्य सन् २०२२ मा घटेर १६ हजार पुगेको थियो । तथापि सन् २०२४ को जनवरीको सुरुवातमै बिटकोइन ४५ हजार ७६५ डलर पुगेको छ ।
सन् २०२२ को मार्च महिनादेखि आक्रामक शैलीमा अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाएका कारण त्यसको प्रभाव क्रिप्टोमार्केटमा देखिएको थियो । साथै विश्वका शीर्ष धनाढ्य व्यक्ति एलन मस्कले बिटकोइनबाट टेस्ला कारहरुको भुक्तानीमा प्रतिबन्ध लगाउँदा क्रिप्टोकरेन्सीको कारोबार खस्किएको थियो। जसकारण सन् २०२२ मा बिटकोइनको मूल्य ७५ प्रतिशत भन्दा धेरैले खस्किएको थियो ।
सन् २०२२ को डिसेम्बर महिनामा बिटकोइनको मूल्य १६ हजार ५२९ डलर थियो । तर सन् २०२३ को डिसेम्बर अन्तिममा आइपुग्दा ४२ हजार ३१४ डलर पुगेको छ। यसरी एक वर्षको अवधिमा बिटकोइन १५६ प्रतिशतले बढेको छ । यस्तै सन् २०२४ को जनवरी २ मा बिटकोइनको मूल्य ३ हजार ४५१ डलरले बढेर ४५ हजार डलर नाघेको छ ।
फेडले सन् २०२४ मा आक्रामक शैलीमा बढाएको ब्याजदर घटाउने संकेत गरेको छ । ब्याजदर कम हुँदा मानिसहरुको ऋण लिएर लगानी गर्न सक्ने वातावरण सिर्जना हुन्छ । जसकारण मानिसहरुले क्रिप्टोकरेन्सीमा लगानी गर्छन् र माग बढ्दै जाँदा क्रिप्टोको मूल्य समेत बढ्दै जान्छ ।
यस्तै इथेरियम ब्लकचेन नेटवर्कले सञ्चालन गरिरहेको इथरको मूल्य सन् २०२३ मा ९१ प्रतिशतले बढेको छ । हाल इथर प्रति कोइन २ हजार ४१४ डलरमा कारोबार भइरहेको छ । यसअघि सन् २०२१ को नोभेम्बर महिनामा इथरको मूल्य ४ हजार ६४४ डलर थियो । तथापि सन् २०२२ मा इथरको मूल्य खस्किएर ९९३ डलर पुगेको थियो । हाल इथर २ हजार ४१४ डलर प्रति कोइनमा कारोबार भइरहेको छ ।
यसरी क्रिप्टोकरेन्सी सन् २०२१ मा कायम गरेको मूल्य नाघेर नयाँ ऐतिहासिक विन्दुमा पुग्न नसकेतापनि बलियो कम्ब्याक गरेको छ । जसकारण लगानीकर्ताहरुको विश्वास पुन जागेको अनुमान गर्न सकिन्छ ।
तथापि नेपाल सरकारले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया