राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे २ अर्ब लगानी गर्ने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साढे २ अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ४४ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १२ करोड २० लाख रुपैयाँ गरी कूल २ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०८० माघ १० गतेदेखि २०८१ माघ ५ गतेसम्मका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस १९ देखि २२ गते बेलुका ७ बजेभित्रमा बोलकबोल मार्फत ब्याजरद प्रस्ताव आह्वान पेस गर्नुपर्ने छ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ। त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा, कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बिस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ ।

यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायतका शर्तहरु तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहीबार १६ : २४ बजे