राष्ट्र बैंकले मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब ९५ करोड २० लाख, विकास बैंकमा ३६ करोड ३० लाख र फाइनान्स कम्पनीमा १२ करोड २० लाख रुपैयाँ गरी कुल दुई अर्ब ४४ करोड रुपैयाँ  लगानी गर्न लागेको छ ।

राष्ट्र बैंकले २०८० माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरूको मुद्दतीमा उक्त रकम राख्न लागेको हो ।

मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजीकोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने तथा तोकिएको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने सर्त राष्ट्र बैंकले राखेको छ।

यस्तै मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने सर्त छ ।

कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरू राष्ट्र बैंकले राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।