बङ्गलादेशमा आवामी लीगलाई तीन चौथाई सीट, हसिना पाँचौं पटक प्रधानमन्त्री बन्ने

बङ्गलादेशमा आवामी लीगलाई तीन चौथाई सीट, हसिना पाँचौं पटक प्रधानमन्त्री बन्ने

बङ्गलादेशमा आइतबार सम्पन्न निर्बाचनमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको दल आवामी लीगलाई तीन चौथाई सीट प्राप्त भएको छ । संसद्मा तीन चौथाइ सिट जितेसँगै हसिना पाँचौं पटक प्रधानमन्त्री बन्ने आधार निश्चित भएको छ ।

निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भने, “अवामी लीगले आइतबार सम्पन्न निर्वाचन जितेको छ ।प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ । निर्वाचनमा ६१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।”

विजयी भएका सांसद्मध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो विजयपछि हसिना पाँचौ पटकका लागि पुनः देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गरेका थिए ।

मुख्य विपक्षी दल बीएनपीसहितका हसिनाको नेतृत्वप्रति असन्तुष्ट केही दलले निर्वाचन बहिष्कार गरेको र निर्वाचनमा रहेका अन्य विपक्षी दलको प्रभाब निकै कम रहेकोले हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको
निर्वाचन अधिकारीहरूले बताएका छन् ।

बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को सङ्ज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतबार सम्पन्न निर्वाचनको परिणाम आएको छ ।बङ्गलादेशको निर्वाचन आयोगले निर्वाचनमा झन्डै ४० प्रतिशत मत खसेको बताएको छ । यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो । निर्वाचनको सम्पूर्ण परिणाम आइनसकेकोले निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी नै छ ।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौंथो पटक निर्वाचित भएकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार १५ : ०४ बजे