बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी, अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने

0
Shares

नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा यही पुस २४ गते काठमाडौंमा ‘नेपाल वित्तीय प्रतिवेदन मान – १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपालको बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि गर्नुपर्ने तयारी, आउनसक्ने चुनौती र सम्बोधन गर्नुपर्ने लगायतका विषयका बारेमा सम्बद्ध नियामक निकायहरू र बीमकहरूबीच छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ–आफ्नो जिम्मेवारी बर्गीकरण गरी कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले भने, “सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी एकीन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस – १७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ, प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ ।”

एनएफआरएस- १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने र पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन सहज हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “प्राधिकरणले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको छ, त्यसबाट एनएफआरएस – १७ लागू गर्न सहयोग पुग्नेछ, बीमा कम्पनीहरूमा एनएफआरएस – १७ लागू गर्ने प्रतिवद्धता देखिएको छ, एनएफआरएस-१७ लागू हुँदाको अवस्थामा कर लगायत अन्य नीति कस्तो हुने हो भन्ने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूको साझा बुझाई हुनुपर्छ ।”

लेखामान बोर्ड, नेपालका अध्यक्ष प्रकाश जंग थापाले आगामी साउन १ गतेदेखि नै एनएफआरएस-१७ लागू गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानको मूल प्रावधानमा असर नपर्ने गरी एनएफआरएस – १७ लागू गर्दा आइपर्ने समस्या समाधान गर्न बोर्ड तयार रहेको बताए।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन काफ्लेले एनएफआरएस-१७ लागू गर्नका लागि बीमा कम्पनीहरूलाई यसको महत्वका बारेमा बुझाउनुपर्ने, पूर्वाधारमा लगानी गर्नुपर्ने र साझा सफ्टवेयर बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै एनएफआरएस -१७ लागू गर्नका लागि सम्बन्धित निकाय निकायहरूको सहभागितामा गठित उच्चस्तरीय समिति अन्तर्गतको प्राविधिक समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको जानकारी दिए।

कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक राज पौडेलले बीमा क्षेत्रमा एनएफआरएस-१७ लागू गर्न लगानीका दृष्टिले ठूलो चुनौती रहे पनि पूर्वाधार, सूचना प्रविधि र जनशक्ति लगायतका विषयमा मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्ले र लेखामान बोर्ड, नेपालका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट मनिष उप्रेतीले एनएफआरएस -१७ सम्बन्धी छुट्टा छ्ुट्टै प्रस्तुती गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेकोे कार्यक्रममा लेखामान बोर्ड, नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पदाधिकारी, नेपाल बीमा प्राधिकरणका निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

एनएफआरएस-१७ लागू भएपछि नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने, अन्तर्राष्ट्रिय वित्तीय विवरणमा एकरूपता कायम हुने, देशमा बैदेशिक लगानी बृद्धि हुने र वैदेशिक व्यापारमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।