राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारले साढे ३ लाख सम्म खर्च गर्न पाउने

0
Shares

 ंनिर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । हरेक उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको आयोगले जानकारी दिएको छ।

आगामी २० फागुनमा राष्ट्रिय सभाका खाली हुने २० मध्ये १९ सिटका लागि ११ माघमा ९ देखि ३ बजेसम्म मतदान हुनेछ । एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन्।निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५१ उम्मेदवार कायम गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) अनुसार सो हद तोकेको आयोगको भनाई छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिनेछ ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन समेत दिएको छ।

त्यसैगरी, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।