बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था दोब्बरले बढेपछि खुद नाफा १६ प्रतिशतले घट्यो

0
Shares

चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको खुद नाफा करिब ६ अर्बले घटेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम दोब्बर भन्दा धेरैले बढेपछि नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । बैंक/वित्तीय संस्थाको यो खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.८८ प्रतिशतले थोरै हो । आर्थिक वर्ष २०७९/८० को मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ७५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

कोरोनाको असरबाट बाहिर नआउदै अर्थतन्त्रमा आएको मन्दीले ऋणीको कर्जा तिर्ने क्षमता कमजोर बनायो । त्यसको असर बैंक वित्तीय संस्थाको नाफामा पर्न गएको हो । समग्र ब्यापार ब्यवसाय प्रभावित भएपछि बैंकका ऋणीको आम्दानी घट्न थाल्यो । ऋणीको आम्दानीमा गिरावट आएसंगै कर्जा तिर्न पनि समस्या हुन थाल्यो । ऋणीले कर्जा तिर्न नसक्दा कर्जा ‘डिफल्ट’ बढ्न थाल्यो । कर्जा समयमा उठ्ने समस्या बढेपछि बैंकहरुले कर्जामा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रोभिजनिङ गर्नु पर्दा नाफामा असर गरेको हो ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्था बापत ३३ अर्ब ८९ करोड रुपैयाँ छुट्याएका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बर भन्दा धेरै हो । गत आवको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था बापतको रकम १६ अर्ब ४ करोड रुपैयाँ मात्र थियो ।

चालु आर्थिक वर्ष सुरु भएसंगै बैंकहरुले कर्जा लगानी भन्दा पनि असुलीलाई प्राथमिकतामा राखेपछि जोखिम व्यवस्था बापतको रकम फिर्ता हुने क्रम बढेको हो ।

त्यसैगरी चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्था वापतको फिर्ता रकम भने बढेको छ । चालु आर्थिक वर्षको मंसिसम्ममा बैंक वित्तीय संस्थाले १४ अर्ब ३९ करोड रुपैयाँ जोखिम व्यवस्थाबाट फिर्ता गरेका छन । यो रकम गत आवको सोही अवधिको तुलनामा साढे ३ गुणले धेरै हो । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाले उक्त शिर्षकमा ४ अर्ब ५७ करोड रुपैयाँ मात्र फिर्ता लिएका थिए ।

तर, चालु आर्थिक वर्षको कात्तिको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफा मंसिरमा बढेको छ । कात्तिकमा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको थियो भने मंसिमा ८ अर्ब २९ करोड खुद नाफा गरेका छन् ।

चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरुको खुद नाफा २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । गत कात्तिकमा बैंकहरुको नाफा २० अर्ब ७३ करोड रुपैयाँ बराबरको थियो । गत आवको मंसिरसम्ममा बैंकहरुले ३३ अर्ब ८७ करोड करोड रुपैयाँ खुद नाफा थियो ।

त्यसैगरी चालु आवको मंसिरसम्ममा विकास बैंकहरुले २ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन । विकास बैंकहरुले चालु आवकै कात्तिकसम्ममा एक अर्ब ६२ करोड ९० लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको मंसिरसम्ममा विकास बैंकहरुको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो ।

चालु आवको मंसिरसम्ममा फाइनान्स कम्पनीले २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । फाइनान्स कम्पनीले कात्तिकसम्ममा २६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आवको मंसिसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ४५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।