ट्रेजरी बिल्समा ३ गुणासम्म आवेदन परेपनि डिस्काउन्ट रेट बढ्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्समा अधिक आवेदन दिएपनि डिस्काउन्ट रेट भने बढेको हो । बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी योग्य रकमलाई ट्रेजरीमा लगानी गर्न खोज्दा आवेदन अधिक पर्दा पनि डिस्काउन्ट रेट बढेको हो ।

सरकारले पुरानो ऋण भुक्तानी नगर्ने भएपछि राष्ट्र बैंकले ऋणपत्र नविकरण गर्नका लागि आइतबार बोलपत्र आह्वान गरेको थियो । उक्त अह्वानमा बैंक वित्तीय संस्थाले ८ अर्बका लागि १७ अर्ब १० करोड र ७ अर्ब ७० करोडका लागि २३ अर्ब ९० करोडको बोलपत्र पेस गरेका हुन ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको तरलता सन्तुलित अवस्थामा छ । केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन उपकरण प्रयोग गरेपछि अधिक तरलताको अवस्था व्यवस्थापन भएको छ । तर, अर्थतन्त्रले गति नलिदा कर्जाको माग आशा गरेअनुसार बढ्न सकेको छैन । कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी योग्य रकमलाई पनि अल्पकालिन प्रतिफलमा प्रयोग गर्न थालेका हुन । बैंकहरुले निक्षेप ब्याजदर दिनुपर्ने भएकाले उक्त रकमलाई थोरै भएपनि लागत कम गर्नका लागि अल्पकालिन औजारहरुमा लगानी गरेका हुन । त्यसले गर्दा पनि माग गरेभन्दा अधिक आवेदन परेको हो ।

बैंकहरुले कर्जा लगानी योग्य रकम नै ट्रेजरी बिल्समा लगानी गर्ने भएपनि ब्याजदर केही बढेर माग गरेका छन् । तर, केन्द्रीय बैंकले सरकारलाई आन्तरिक कर्जाको लागत धेरै नपार्न सामान्य मात्र बढेर ट्रेजरी बिल्सको नविकरण गरेको छ । केन्द्रीय बैंकले सरकारका लागि नविकरण गर्न खोजेको ट्रेजरीमा बैंकहरुले धेरै आवेदन दिएपनि थोरै डिस्काउन्ट माग्नेलाई प्राथमिकतामा राखेर दिन्छ । सोमबार सरकारले थोरै ब्याज माग्नेलाई प्राथमिकतामा राख्दा पनि विगतको भन्दा केही ब्याजदर बढेर बिक्री गरेको छ ।

आइतबार केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँ बरावरको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी नविकरण गरेको छ । उक्त २८ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले अधिकत ३.४५९४ र न्यूनतम २.३५६० प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन् । यसको औसत डिस्काउन्ट रेट ३.२०५९ प्रतिशत कायम भएको छ । यसभन्दा अघि पुस ११ गते नविकरण भएको सोही अवधिको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २.३५८० थियो ।

त्यसैगरी आइतबार निष्कासन भएको ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.५८७९ र न्यूनतम ३.२५७१ प्रतिशत डिस्काउन्ट रेट माग गरेको केन्द्रीय बैंकले जनाएको । उक्त ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.४४२२ प्रतिशत कायम भएको छ । यसभन्दा अघि पुस २४ गते निष्कासन भएको ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.३७३० प्रतिशत कायम भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।