मानिसहरुको रोजगार छिन्दै एआई, विकसित देशमा अझ बढी समस्या

0
Shares

एआई अर्थात् कृतिम बौद्धिकताको प्रयोग विश्व बजारमा बढ्दै गएको छ । मानिसहरुले गर्ने काम सहजताका साथ थप दक्षता पूर्वक सम्पन्न गर्नका लागि एआईको निर्माण भएतापनि पछिल्लो समयमा एआईकै कारण मानिसहरुले रोजगार गुमाउदै गएका छन् ।

प्रविधिको विकाससँगै मानिसहरुको जीवन यापन सहज भइरहेको छ । एआई पनि प्रविधिकै देन हो । तर एआईको काम गर्ने क्षमता मानिसहरुको तुलनामा बढी हुँदा यसले विकसित देशहरुमा धेरै मानिसहरुको रोजीरोटीको बाटो छिन्दै गएको छ । बजफिड डट कम नामक एक सामाचार कम्पनीले कन्टेन्ट निर्माणमा एआईको प्रयोग सुरु गरेपछि आफ्नो समाचार विभागका १०० कर्मचारीलाई बर्खास्त गरेको छ ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)का अनुसार निकट भविष्यमा विश्वव्यापी रुपमा एआईको प्रयोग बढ्दै जाँदा ४० प्रतिशत रोजगारी कटौती हुनेछन् भने विकसित देशहरुमा एआईकै कारण ६० प्रतिशत रोजगार कटौती हुने आकलन छ । विकसित देशहरुमा एआईको विकास तिव्र रुपमा भइरहेको छ । जसकारण मानिसहरुको रोजगार ती देशहरुमा एआईले विस्थापित गरिरहेको छ ।

यसै सन्दर्भमा आइएमएफकी प्रबन्ध निर्देशक क्रिष्टालीना जिर्योजिभा भन्छिन्, ‘एआईको प्रयोगले धेरै आम्दानी गरिरहेका मानिसहरुलाई आम्दानी बढाउन सहज भइरहेको छ भने इन्ट्री लेभलका मानिसहरु एआईकै कारण बेरोजगार हुने सङ्ख्या बढ्दै गएको छ । यसले समाजमा आर्थिक असमानता थप बढाउँदै गएको छ।’

हाल विश्व दुई वर्गमा बाँडिएको छ–एउटा एआई प्रयोग गर्ने वर्ग र अर्को एआई प्रयोग नगर्ने । जसले एआईको सदुपयोग गरिरहेका छन्, उनीहरुले थोरै समयमा धेरै काम थप दक्षताका साथ सम्पन्न गर्न सफल भएका छन् ।

उदाहरणका लागि सन् २०२२ को नोभेम्बर महिनामा ओपनएआई कम्पनीले च्याटजिपिटी नामक एआई बोट लन्च गर्यो । जसले मानिसहरुले सोधेका प्रश्नहरुको जवाफ छिनभरमै दिन सक्ने क्षमता राख्थ्यो भने प्रम्ट अनुसारको नतिजा सहजै दिन्थ्यो ।

यसरी ओपन एआईले सुरु गरेको एआई रिभोलुसनले वर्षौं देखि एकछत्र राज गरेको सर्च इन्जिन–गुगललाई समेत टक्कर दिन सफल भएको थियो । च्याटजिपिटीकै काउन्टरमा गुगलले बार्ड हुँदै हाल जेमिनी एआईको निर्माण गरेको छ । एआईको प्रयोग कोडिङ, कन्टेन्ट निर्माण, कन्टेन्ट राइटिङ, गेम निर्माण, लगायतका क्षेत्रमा बढ्दै जाँदा आगामी समयमा मानिसहरुको रोजगार थप कटौती हुने सम्भावना बढ्दै गएको हो ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण मेसिनहरुको प्रयोग बढ्दै जाँदा हजारौँ मानिसहरुको रोजगारी कटौती हुँदै गएको थियो। यस्तै सन् २०२२ को अन्तिम देखि ठूला कम्पनीहरु एआई बोटको निर्माणमा जुटेसँगै त्यसले थप जागिर कटौतीको सङ्ख्या बढाउने छ ।

क्रिष्टालीना जिर्याेजिभा भन्छिन्, ‘एआईको प्रयोगले या त मानिसहरुले आफ्नो रोजगार गुमाउने छन् या थप दक्षताका साथ आफ्नो काम गर्न सक्नेछन् । एआईको प्रयोगले मानिसहरुलाई थप उत्पादनमुखी बनाउनुका साथै आम्दानी बढाउन सघाउने छ ।’ एआईको सन्दर्भमा आइएमएफ निर्देशक जिर्योजिभा र हालै स्वीजरल्यान्डको डाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरुममा सहभागी राजनीतिज्ञहरुको समान मत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।