सिजी ग्रुपको सिजी सिमेन्ट इन्डष्ट्रिज साढे १२ अर्ब ऋण भुक्तानी गर्न असक्षम

0
Shares

व्यापारिक घराना सिजी ग्रुपको लगानी रहेको सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिले १२ अर्ब ५४ करोड ७० लाख ऋण भुक्तानी गर्न सकेको छैन ।

सन् २०२२ को जुलाई महिनामा रेटिङ एजेन्सी इक्रा नेपालले सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पालाई ९ अर्ब ५४ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ३ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो । बैंकले सो ऋण भुक्तानी गर्न तोकेको ३० दिन नाघिसक्दा समेत कम्पनीले कुनै प्रतिक्रिया नदिएको इक्रा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इक्रा नेपालका अनुसार एजेन्सीले कर्जा समीक्षाको विषयलाई लिएर पटक पटक सम्पर्क गर्न खोज्दा समेत कम्पनी सम्पर्कमा नआएको हो । जसकारण इक्रा नेपालले सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिको रेटिङ घटुवा गरी दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ‘डि’ रेटिङ गरेको छ । जसको अर्थ कम्पनीले वित्तीय दायित्व पूरा गर्न असक्षम रही ‘डिफल्ट’ को अवस्थामा पुगेको भन्ने हो ।

रेटिङ एजेन्सी इक्रा नेपालको डिफल्ट रिकगनीसन नीति अन्तर्गत कम्पनीको रेटिङ घटाएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०११ मा स्थापना भएको सिजी सिमेन्टको उत्पादन प्लान्ट पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको सरदेवामा अवस्थित छ ।

कम्पनीले क्लिकंर तथा सिमेन्ट उत्पादन गरिरहेको छ। कम्पनीको क्लिंकर उत्पादन क्षमता २ हजार ९५० टन प्रतिदिन रहेको छ भने सिमेन्ट उत्पादन क्षमता २ हजार ८०० टन प्रतिदिन रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।