सेयर बजारमा नाफा सुरक्षित गर्दा नेप्सेमा सामान्य करेक्शन, हिमालयन रिको करिब २ अर्बको सेयर किनबेच

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा सेयर बजारमा सामान्य करेक्शन सहित बन्द भएको छ । बिहीबाार कारोबार रकम सवा ८ अर्ब कायम भएको छ । यसदिन दोस्रो पुनर्बीमा कम्पनीको रुपमा आईपीओ जारी गरेको हिमालयन रि इन्स्योरेन्स एक्लैको १ अर्ब ८४ करोड माथिको सेयर खरिद बिक्री भएको छ ।

बुधबार पौने दश अर्बको सेयर कारोबार भएपछि अल्पकालीन लगानीकर्ताले बजारमा नाफा सुरक्षित गर्दा बिहीबार कारोबार सुरु हुने बित्तिकै बजार ओरालो लागेको थियो । २१६३.०६ बिन्दुमा खुलेको बजार २१६७.४३ बिन्दुसम्म बढेको भएपनि ३० अंकसम्म नेप्से घटेर न्यूनतम २१३३.१२ बिन्दुसम्म झरेको थियो । यद्यपी बजारमा ब्याजदरको सकारात्मक प्रभाव र दीर्घकालीन लगानीकर्ताको हाबी हुँदा बजार ७.२४ अंकको सामान्य गिरावट सँगै बन्द भएको हो । आज सूचक २१५५.८२ बिन्दुमा रहेको छ । यो दिन ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९३.६२ विन्दुमा पुगेको छ ।

यसदिन २९८ कम्पनीका २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८३ रुपैयाँमा किनबेच भएको छ । हिजो बुधबार ३०० कम्पनीका ३ करोड ३५ लाख २५ हजार कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा दैनिक कारोबार रकम १ अर्ब ५९ करोड रुपैयाँले घटेको हो ।

दोस्रो पुनर्बीमा कम्पनीको रुपमा सेयर बजार छिरेको हिमालयन रिको आज १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३२८ रुपैयाँ बराबरका ३० लाख ४४ हजार ७०२ कित्ता सेयर १ लाख ५४ हजार ११ वटा सङ्ख्यामा खरिद बिक्री भएको छ । आजको कुल कारोबारमा कम्पनीको हिस्सा २२.५६ प्रतिशत बराबर छ । बुधबार ६०२ रुपैयाँ २० पैसाबाट सुरुमा बढेर ६२६ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर ७.३० प्रतिशतसम्मले घटेर ५५८ रुपैयाँसम्म झरेको थियो । कम्पनीको सेयर मूल्यमा अधिक गिरावट आएपछि पुनः लगानीकर्ताले धमाधम सेयर उठाउँदा ६६१ रुपैयाँ ५० पैसासम्म पुगेर सकारात्मक सर्किट लागको कम्पनीको सेयर मूल्य बजार बन्द हुँदासम्म अघिल्लो दिनको तुलनामा ८.४४ प्रतिशतले बढेर प्रतिकित्ता ६५३ रुपैयाँ पुगेर कारोबार बन्द भएको छ ।

कम्पनीले कुल ३ करोड कित्ता सेयर सार्वजनिक निष्कासन गरेकोमा २ करोड ४९ लाख कित्ता सर्वसाधारण र बाँकी कर्मचारी तथा म्युचुअल फन्डलाई बाँडफाँड गरेको थियो । कम्पनीको सेयर १५ लाख ६४ हजार ५६४ जनाले हात पारेका थिए । जसमा ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार र २९ हजार २१ जनाले अधिकतम ४० कित्ता हात पारेका थिए । कम्पनीको सेयर पछिल्ला आठ दिनसम्म निरन्तर बढ्दै आएको छ ।

त्यस्तै, सोनापुरको ३० करोड १८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २३ करोड ४९ लाख रुपैयाँ, रिडि पावरको १६ करोड ९८ लाख रुपैयाँ र नेपाल वेयर हाउजिङको १५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये अन्य १.३० प्रतिशत, हाइड्रोपावर  ०.७९ प्रतिशत र फाइनान्स उपसमूहको सूचक ०.२० प्रतिशतले बढेका छन् । बाँकी १० उपसमूहको सूचक घटेका छन् । आज आज होटल तथा पर्यटन सर्वाधिक १.४२ प्रतिशतले बढ्दा उत्पादन १.२८ प्रतिशत, निर्जीवन बीमा १.१३ प्रतिशत र लघुवित्त १.०२ प्रतिशतले घट्यो । यस्तै  बैंकिङ समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, होटल तथा पर्यटन समूहका १.४२ प्रतिशतले घटेको छ ।

रिडि हाइड्रोपावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी यसैगरी सिइडिबी हाइड्रोपावरको ९.८५ प्रतिशत, दोर्खीखोला जलविद्युत ८.४६, हिमालयन रि इन्स्योरेन्सको ८.४४ प्रतिशत, इन्फिनिटी लघुवित्त ७.९८, लिबर्टी इनर्जीको ७.४८ र ङादी ग्रुप पावरको सेयर मूल्य पनि ७.३० प्रतिशतले बढेको छ ।

यता तेह्रथुम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.४३ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई लघुवित्तको ७.३० प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ७.१९ प्रतिशतले घटेको छ । आज प्रभु स्मार्ट फण्ड, नेपाल वेयर हाउजिङ कम्पनी, ९% नेपाल एसबीआई बैंक ऋणपत्र २०८९, अप्पर तामाकोशी, साेनापुर मिनरल्स, रावा इनर्जी र कुमारी धनबृद्धि योजनाको मूल्य घटेको छ ।

बिहीबार कुल बजार पुँजीकरण ३३ खर्ब ८६ अर्ब ३ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । सेयर बजारमा रहेको लगनीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा ११ अर्ब ३७ करोड ५१ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।