माथिल्लो तामाकोशीको ३० हजार लिलामी आवेदन खोल्न २ दिन लाग्ने, बोलकबोल खुल्न सुरु


हकप्रद निष्काशनका दौरान बिक्री नभएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने काम सुरु भएको छ । कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहान कार्यालय समयदेखि लिलामीको बोलकबोल खोल्न थालिएको हो ।

क्यापिटलका अनुसार शुक्रबार बिहानदेखि दिउँसो १ बजेसम्ममा ३ हजार हाराहारी बोलकबोलहरु खोलिएको छ । उसका अनुसार ३० हजारभन्दा बढी आवेदन परेको छ । सबै आवेदन शनिबार साँझसम्ममा खोल्ने क्यापिटलको योजना छ । शुक्रबार ३ घण्टामा ३ हजारभन्दा कम आवेदन खुल्ला गरिएको रफ्तारले ३० हजार आवेदन खोल्न ३० घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ । यद्यपी क्यापिटलले काउण्टर थप गरेर निर्धारित समयमा बोलकबोल खोल्न सक्छ ।

सर्वसाधारणले नै २ अर्ब हाराहारीको सेयर आवेदन गरेकोमा अन्तिम दिनमा संस्थागत लगानीकर्ताले माथिल्लो मूल्यमा सेयर लिलामीमा आवेदन गरेका छन् । यता दोस्रो बजारमा बोलकबोल खोल्ने समय नजिकिएसँगै कम्पनीको सेयर मूल्य तिब्र गतिमा बढेको छ । यो अवस्थामा तल्लो मूल्यमा आवेदन दिएकाहरुले सेयर पाउने सम्भावना न्युन देखिएको छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

मिनी आईपीओ बन्दै माथिल्लो तामाकोशीको लिलामी सेयर

माथिल्लो तामाकोशीको लिलामी सेयर ओभर सब्स्क्राइब्ड, संस्थागत लगानीकर्ताले कटअफ निर्धारण गर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।