माथिल्लो तामाकोशीको लिलामी सेयर ओभर सब्स्क्राइब्ड, संस्थागत लगानीकर्ताले कटअफ निर्धारण गर्ने


ठुलो संख्यामा लिलामीमा आएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयर सर्वसाधारणको आवेदनबाट नै ओभरसब्स्क्राब भएको छ । मिनी आईपीका रुपमा अधिक आवेदन परेसँगै कम्पनीको सबै सेयर बिहीबार साँझसम्मको आवेदनबाट नै बिक्री भएको हो ।

कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहीबार साँझसम्म लिलामी प्रकृयाका लागि तोकिएको बैंक खातामा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ ।

तोकिएका आवेदन केन्द्रहरुमा आवेदकको भीड लागेसँगै क्यापिटलले दैनिक हजारौंको संख्यामा आवेदन फारम प्रिन्ट गर्दै पठाएको छ । बिहीबार साँझसम्ममा सबै आवेदन केन्द्रहरुमा ३० हजार वटा आवेदन पठाइएको र एकल सर्वसाधारण आवेदकबाट झण्डै १० हजार आवेदन प्राप्त भइसकेको क्यापिटलको भनाई छ । विभिन्न आवेदन केन्द्रमा प्राप्त भएका आवेदनको पूर्ण विबरण आईनसकेको जनाएको क्यापिटलले बैंक खातामा भने १ अर्ब ७० करोडभन्दा बढी रकम जम्मा भइसकेको जनाएको छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीमा राखिरहेको छ । लिलामीको म्याद सकिने समय नजिकिँदै गर्दा तोकिएका केन्द्रहरुमा आवेदन फारम लिनेको भिड बढ्न थालेको कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । पहिलो चरणमा १० हजार आवेदन छपाई गरिएकोमा पछिल्लो साता दिनमा मात्र प्रत्येक दिन ५ हजारका दरले थप आवेदन फारम छपाई गर्दै आवेदन केन्द्रहरुमा पठाइएको क्यापिटलको भनाई छ ।

सर्वसाधारण आवेदकहरुबाट बिहीबार साँझसम्म परेको आवेदनका आधारमा मात्र लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने हो भने सबै आवेदकले माग गरे अनुसारको सेयर पाउने अवस्था बनेको छ । यद्यपी संस्थागत लगानीकर्ताहरुको आवेदन आईनसकेको अवस्थामा यस्तो आवेदनले नै लिलामी सेयरको कटअफ निर्धारण गर्ने भएको छ । अहिलेकै अवस्थामा भने केही आवेदकलाई छाडेर प्रतिकित्ता १०० रुपैयाँको दरमा आवेदन दिएकाहरुले पनि सेयर पाउनेछन् । 

संस्थागत लगानीकर्ताहरुले ठुलो रकमको आवेदन दिने भएकाले अन्तिम दिनमा मात्र आवेदन दिने गर्दछन् । व्याज खर्च कम गर्ने नीति अनुसार यस्ता लगानीकर्ताले लिलामी आवेदनको अन्तिम दिन आइतबार गूड फर पेमेण्ट तथा आरटिजीएस र कर्पोरेट पेका माध्यमबाट रकम जम्मा गरी अन्तिम समयमा मात्र कम्पनीको लिलामी सेयरमा आवेदन दिनेछन् । ठुलो संख्यामा आवेदन दिएर संस्थागत लगानीकर्ताले अल्कपालीन रुपमा कम्पनीको प्रतिकित्ता सेयरबाट थोरै मात्र नाफा गर्दा पनि ठुलो संख्याबाट करोडौं नाफा गर्ने भएकाले यस्ता लगानीकर्ताले माथिल्लो दरमा आवेदन गर्ने सम्भावना बढेको छ ।

नयाँ बानेश्वरस्थित सनराइज लक्ष्मी क्यापिटलको कार्यालय तथा कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषको कार्यालयका साथै देशभरका तोकिएका आवेदन केन्द्रहरुमा आइतबार लिलामी सेयरमा आवेदन दिनेहरुको भिड लाग्ने निश्चित भएको छ । आवेदन केन्द्रहरुमा पठाइएको ३० हजार आवेदन फारम मध्ये कम्तीमा २५ हजारभन्दा बढी आवेदन आउने बिक्री प्रबन्धकको अनुमान छ ।

न्यूनतम प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । उक्त लिलामीमा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् । अहिले दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयर १९७ रुपैयाँको दरमा किनबेच भइरहेको छ ।

कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रद (लिलामीमा राखिएको समेत) सेयर सूचीकरण भएर कारोबारमा आएपछि अधिक बिक्री चाप आउने निश्चित छ । सो अवस्थामा अहिले बढेको बजार करेक्सन समेत भएको खण्डमा माथिल्लो तामाकोशीको सेयरमूल्य धेरै तल आउन सक्ने जोखिम पनि उत्तिकै छ । संस्थागत लगानीकर्ताहरुले माथिल्लो मूल्यमा सेयर बोलकबोल गरी थोरै मात्र नाफामा धमाधम सेयर बिक्री गर्न थालेको अवस्थामा सर्वसाधारणले माथिल्लो मूल्यमा किनेको सेयर नाफामा बिक्री गर्न नसक्ने अवस्था पनि बन्न सक्छ । यस्तो अवस्थामा उचालिएर माथिल्लो मूल्यमा लिलामी सेयरमा आवेदन गर्नेभन्दा कम मूल्यमा आवेदन दिएर सेयर नपाउँदा पनि चित्त बुझाउनु उत्तम हुन्छ ।

लिलामीमा राखिएको सेयरमा पुस २९ गते आइतबारसम्म नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौबाट आवेदन दिन सकिने छ । यस्तै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको प्रधान कार्यालय नयाँ बानेश्वर तथा कमलपोखरी, र लक्ष्मी सनराइज बैंक लिमिटेडका बिराटनगर, बीरगञ्ज, धरान, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र चरिकोट शाखाबाट पनि लिलामी सेयरमा आवेदन दिन सकिने छ ।

बिक्री प्रबन्धकले विद्यमान व्यवस्था अनुसार २ सातामा सेयरको बोलकबोल खोलिसक्ने जनाएको छ । यद्यपी देशभरका संकलन केन्द्रमा ठूलो संख्यामा परेको आवेदन काठमाण्डौं आउन समय लाग्न सक्ने र काठमाण्डौंमा झन् धेरै संख्यामा परेको आवेदन रुजु गर्न पनि समय लागेको खण्डमा भने नियामक निकायसँग अनुमति मागेर बोलकबोल खोद्यने समय थप हुन सक्छ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।