राष्ट्रिय सहकारी बैंकले विद्यमान ब्याजदरलाई घटाई परिमार्जन गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले यसअघि ६ पुसमा ब्याजदर घटाएकोमा माघ ५ गतेदेखि लागू हुनेगरी पुनः घटाएको हो ।
माघ ५ गते शुक्रबारदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदरमा साधारण बचतमा न्यूनतम १.५० देखि अधिकतम ३.२५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यस्तै सहकारी बैंकले अनिवार्य नियमित बचतकर्तालाई ८ प्रतिशत, क्रमिक बचतमा ७ देखि ७.७५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ देखि ६.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकले साधारण बचत खातामा समयावधि अनुसार १.५० देखि अधिकतम ३.२५ प्रतिशत, विशेष बचतमा २ प्रतिशत, सुपर बचतमा २.५० देखि ३ प्रतिशत, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम २.५० देखि अधिकतम ३.२५ प्रतिशत र एनसिसिएल प्रिमियम बचतमा समयावधि अनुसार २.७५ देखि ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै अनिवार्य नियमित बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ७ देखि ७.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । बैंकको मुद्दती निक्षेपमा समयावधि अनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

यस्तै बैंकले कर्जातर्फ विभिन्न शीर्षकमा न्यूनतम ७ देखि ११.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकले कृषि तथा कृषि परियोजना कर्जा (किस्तावन्दी) ७ देखि १० प्रतिशत, अन्य परियोजना कर्जा ७ देखि १०.५० प्रतिशत, आवधिक कर्जा ११ प्रतिशत र हायर पर्चेज कर्जा १०.७५ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।
यस्तै सहकारी बैंकले लघुवित्तकर्जा १०.५० देखि ११ प्रतिशत, दिगो सहकारी कर्जा ११.७५ प्रतिशत, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा ११ देखि ११.५० प्रतिशत, तरलता व्यवस्थापन ११.२५ प्रतिशत र चालु पुँजी कर्जा ११.७५ प्रतिशत, आपतकालिन तरलता र सहकारी व्यवस्थापन कर्जाको ब्याजदर ११ प्रतिशत तोकेको छ ।
यसैगरी सहकारी स्तरिकरण कर्जा ८.५० प्रतिशत, साना तथा मझौला सदस्य कर्जा ९ प्रतिशत, उत्पादन र प्रशोधन भण्डारण बजारीकरण कर्जा ७ देखि १० प्रतिशत, अल्पकालिन व्यवसायीक कर्जा ११ प्रतिशत, मौसमी कर्जा ७ प्रतिशत, पर्यटन प्रवद्र्धन कर्जा ७ देखि १० प्रतिशत, सबल सहकारी कर्जा ११.७५ प्रतिशत, गरीबी निवारण कर्जा १० देखि १०.५० प्रतिशत, व्यवसायीक कर्जा ३ देखि ४ वर्ष अवधिको १०.२५ प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिका लागि १०.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले निक्षेप दरमा २ प्रतिशत प्रिमियम थप गरी निक्षेप कर्जा उपलब्ध गराउने जनाएको छ ।
बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । मुद्दती निक्षेपको बिड रेट ६.५० प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने तथा यस्तो सुविधा दोहोरो नहुनेगरी प्रदान गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
