नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सञ्चार सचिव टेलिकमको अध्यक्ष रहने प्रावधान अनुसार सुवेदी अध्यक्ष चयन भएका कम्पनी सचिव राजेन्द्र अर्यालले जनाएका छन् । नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयता र इमान्दारीताको सपथ लिइसकेका छन् । यसअघि टेलिकमको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर राउत थिए । सरकारले राउतलाई राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।
नवनियुक्त सञ्चार सचिव सुवेदीले पुस २६ देखि कार्यभार सम्हालेका थिए । पदभार ग्रहणमा सचिव सुवेदीले सञ्चार मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मन्त्रालय भएकाले विशिष्ट खालको भूमिका हुने बताएका थिए । उनले दुनियाँलाई नेपाल चिनाउने महत्वपूर्ण माध्यमका रूपमा सञ्चार मन्त्रालय भएकाले संवेदनशील भई काम गर्नुपर्नेमा जोड दिएका थिए ।
शिक्षा सेवाबाट प्रशासनिक सेवामा प्रवेश गरेका सुवेदी प्रशासनतर्फ सहसचिव हुँदै सचिव भएका थिए । उनले गृह मन्त्रालयको प्रवक्ता हुँदै विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरे । सहसचिवबाट सचिव भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सचिव, उपराष्ट्रपति कार्यालय सचिव, मधेश प्रदेशका प्रमुख सचिव हुँदै राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
