काठमाडौंको न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीले बन्द गरे सबै सटर  

0
Shares

काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्यूरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौं महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् । 
 
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्यूरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । “व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ,” उनले भने ।
 
काठमाडौं महानगरपालिकाले भने आज बिहानदेखि न्यूरोड आसपासमा पार्किङ गरिएका सवारी साधन हटाएको छ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्यूरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।
 
“न्यूरोड जानुपर्ने सवारीधनीलाई काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौं”, उनले भने । पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चार पाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ ।
 
पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइ समेत गरेको छ ।
 
 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।